काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले महिला कर्मचारीलाई ९८ दिन सुत्केरी बिदा दिन निर्देशन दिएको छ।
सरकारी, निजी तथा संघ संस्थामा कार्यरत महिलाहरुलाई नियमानुसार पाउनुपर्ने प्रसूति बिदा नदिएको गुनासो बढेपछि मन्त्रालयले एक सूचना जारी गरी बिदा दिन निर्देशन दिएको हो।



सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन, २०७५ को दफा १३ मा निजी सरकारी गैरसरकारी संघ संस्थामा कार्यरत महिला कर्मचारीलाई सुत्केरी हुनु अघि वा पछि कम्तिमा ९८ दिनसम्मको तलबसहितको प्रसूति बिदा पाउने व्यवस्था छ।





