सिराहा । सिराहा प्रहरीले २७ केजी प्रतिबन्धित लागूऔषध गाँजासहित एक थान मोटरसाइकल बरामद गरेको छ । विशेष सूचनाको आधारमा पुगेको प्रहरी टोलीले सुखिपुर नगरपालिका ८ बाट ३ वटा बोरामा रहेको २७ केजी गाँजा र मोटरसाइकल बरामद गरेको हो ।
गस्तीमा रहेको प्रहरीलाई देखेर मोटरसाइकल र गाँजा छोडी भागेको हुन सक्ने जिल्ला प्रहरी कार्यालय सिराहाका सूचना अधिकारी डिएसपी सुवास बुढाथोकीले जानकारी दिए । प्रहरीले नियन्त्रणमा लिएको मोटरसाइकलको आधारमा घटना अनुसन्धान गरिरहेको जनाएको छ । अनुसन्धानमा असरपर्ने भन्दै मोटरसाइकल नम्बर भने प्रहरीले खुलाउन चाहेनन् ।



नेपालभन्दा बढी भारतीय बजारमा गाँजाको माग बढिहुने र आमदानी पनि बढी हुने भएकोले भारतीय बजारमा बिक्रीको लागि हुनसक्ने अनुमान गरिएको छ । यसअघि पनि उदयपुरको विभिन्न स्थानबाट जम्मा गरेको गाँजा सिराहाको विभिन्न स्थानबाट भारत जाने गरेको स्रोतको दावी छ ।




