औरही - महोत्तरीबाट ११६.५० ग्राम सुनको बिस्कुट सहित एकजनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा महोत्तरी कै एकडारा गाँउपालिका-५ बस्ने ३५ वर्षिय सुशिल साह रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय महोत्तरीले ९ लाख ७८ हजार ८ सय २४ रुपैयाँ मूल्य बरावरको ११६.५० ग्राम बजन भएको बिस्कुट आकारको सुन सहित साहलाई सोमबार सार्वजनिक गरेको हो।
आईतबार साँझको समयमा औरही नगरपालिका-४ कठुधारमा सम्सी माईस्थान सडक खण्डबाट विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय महोत्तरी, ईलाका प्रहरी कार्यालय गौशाला तथा अस्थाई प्रहरी पोष्ट कठुधारबाट खटिएको प्रहरी टोलिले साहलाई पक्राउ गरेको हो ।
सम्सीबाट गौशाला तर्फ पैदल जादै गरेका साहलाई चेकजाँच गर्ने क्रममा उनले लगाएको जिन्स प्यान्टको खल्तीबाट सो सुन बरामद भएको प्रहरी प्रवक्ता एवम् डिएसपी प्रकाश विष्टले बताए । पक्राउ परेको साहलाई आवश्यक कारवाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारा पठाईएको डिएसपी विष्टले जानकारी दिए।