—दिवेश कुमार महतो
बिहानीको मिरमिरे उज्यालोसँगै अस्ताएका एक पर्यावरण योद्धा, २५ वर्षे ठिटो ओमप्रकाश महतो उर्फ दिलिप । २५ पौष २०७६ अर्थात पर्यावरण क्षेत्रमा सदैवका लागि कालो दिन । गाउँसमाजको लिगलिगे आवाजलाई बुलन्द बनाउन खडो उत्रन्थे उनी ।
पर्यावरणलाई गम्भिर रुपमा बुझेका दिलिप खोला उत्खनन् र चुरे दोहन गर्ने माफियाहरुलाई रोक्न एक्लै पनि अघि सर्न उनको कहिल्यै खुट्टा कमाएन । तर, २०७६ साल पौष २५ गते शुक्रवार एकजना साथीलाई लिएरै उत्खनन् रोक्न घर नजिकैको औरही खोला पुगेका धनुषाको मिथिला नगरपालिका–५ श्रीपुरका दिलिपलाई कहिल्यै घर नफर्किने गरी क्रसर डनले अस्ताई दिए ।
बुवा रामजीवन र आमा चन्द्रकलाको कोँखबाट जन्मिएका दिलिप गाउँसमाजका सबैको प्रिय बनेका थिए । उमेर ढल्दै गइरहेको बुवाआमाको साहाराको पिलर बन्ने दिलिपलाई क्रसर डनले खोलामै निर्ममतापूवर्क ढालिदिए । ईन्जिनियर बनाएर छोरालाई ठुलो बनाउने सपना बोकेका बुवाआमालाई क्रसर डनले बेसहारा बनाईदिए ।
गलतको विरुद्ध लडेर समाजलाई सबल बनाउने, पर्यावरण जोगाएर सबैको जीवन बचाउने अभियान बोकेका दिलिपलाई अपराधीहरुले दुईवर्ष अघि सदाका लागि रोकिदिए । तर, हत्याराबाट दिलिप रोेकिएपनि उनको अभियान रोकिएन । गाउँमै सिमित रहेको दिलिपको पर्यावरण जोगाउने अभियान देशव्यापी बन्यो । अन्तराष्ट्रियस्तरमै अझै उनको चर्चा चलिरहेको छ । पर्यावरण जोगाउन कम्मर कसेका दिलिपलाई सरकारले अहिलेसम्म शहिद घोषणा नगरेको भएपनि देशका जनताले उनलाई पर्यावरण शहिद घोषणा गरेर उनलाई र उनको अभियानलाई अमर बनाईदिएको छ ।
पर्यावरण भनेको जीवित प्राणीसँग जोडिएको वातावरण अवस्था हो । वनस्पति होस् वा प्राणी सबै आ–आफ्नो पर्यावरणमा हुर्कन्छन् । त्यसैले मानव जीवनको आयु बचाउनका निम्ति पर्यावरणलाई सन्तुलित राख्नु अति आवश्यक छ । प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा पर्यावरणले हामीलाई सहयोग पु¥याईरहेको छ । हामीले एउटा विरुवा काटेको खण्डमा ४ वटा विरुवा रोप्नु पर्दछ ।
दिलिप र पर्यावरणको सम्बन्ध बारे भन्नुपर्दा दिलिप पर्यावरणकै संरक्षणका निम्ति जन्मिएका योध्दा थिए । उनी वातावरण संरक्षणको विषयमा निडर भएर बोल्थे। पर्यावरण संरक्षण बारे सचेत युवा थिए । अनियन्त्रित दोहन र कानुनविपरीत सञ्चालित क्रसरलाई रोकेर गाउँलाई सम्भावित प्राकृतिक विपदबाट जोगाउन संगठित अभियान चलाएका थिए, दिलिप । जसका कारण समाजको आँखाका ज्योती बनिसकेका थिए । तर, खोला दोहन गर्ने क्रसर माफियाको आँखाका लागि भने कसिङ्गर बनेका थिए । पर्यावरण सन्तुलन र संरक्षणका निम्ति अवैध खोला उत्खनन् बारे बिरोध जनाउँदै आएका थिए । उनको घर नजिकै रहेको औरही खोलामा बर्सेनी आउने बाढी र त्यसले मच्चाउने पिडादायी वितण्डाबाट आफ्नो गाँउसमाजलाई जोगाउन संङघर्षरत थिए, उनी । ज्यान मार्ने धम्की तथा मुख बन्द राख्न देखाइएका लोभलालचको कत्ति पनि प्रभावमा नपरी अवैध धन्दा रोक्ने अभियानलाई निरन्तरता दिएका दिलिपको हठी स्वभावले क्रसर माफियाहरु आक्रोसित बनिसकेका थिए । उनी इमान्दारिताको साथ सत्यको पक्षमा अवाज उठाउँदै आएका युवा थिए । क्रसर व्यवसायीहरुको बाटोको छेकाई बनेको दिलीपलाई नहटाईकन कन्ट्रक्सन नफस्टाउने डरले दिलीपलाई मार्ने योजना बनाए ।
दिलीप, भारतबाट सिभिल इन्जिनियरिङको पढाइ गरेर आफ्नो गाउँ श्रीपुर फर्किएका थिए । उनी घर फर्किन साथ युवाहरुको समुहमा घुलमिल गर्ने र समाजिक कार्यमा संलग्न रहेर काम गरेको देखेर अरुलाई इष्र्या पनि हुन्थ्यो । २०७६ पौष २५ गते राती दिलिप घर नजिकै रहेको औरही खोलामा मापदण्ड विपरित खोला उत्खनन् भईरहेको भनेर चुरियामाई बालुवा प्रसोधन केन्द्रबाट उनलाई गोप्य सुचना दिई खोलामा ल्याउने प्रयास ग¥यो । दिलिप दुई जना साथी सहित रातीको ४ बजे तिर खोला तर्फ निस्क्यो । खोलामा पुगिन साथ उनले साच्चिकै अवैध खोला उत्खनन् भईरहेको देखेर रोक्न गए । रोक्ने क्रममा त्यहाँका क्रसर माफियाहरुको समुहले दिलिपलाई फलामको लिभरले कोखमा हानेर घाईते बनाई गाडी चल्ने लिखमा सुताएर शरीरमाथि चक्का चढाई निर्ममतापूर्वक हत्या गरिएको थियो । दिलिपसँग खोलामा पुगेका दुई जना साथी ज्यान बचाएर भाग्न सफल भएका थिए । तर ती दुईजना साथी त्यस घटनामा संलग्न रहेर सुनियोजित रुपमा घटना घटाईएको पनि कतिपयको आशंका थियो । दिलीपको हत्या भए लगत्तै ईलाका प्रहरी कार्यालय ढल्केबर धनुषाको तत्कालीन ईन्सपेक्टर रामकुमार यादवको नेतृत्वमा खटिएको प्रहरी टोलीले लासको मुचुल्का नउठाई, परिवारजनलाई जानकारी नगराई, हत्याराहरुको बचाउका निम्ति घटनालाई दुर्घटनाको रुप दिन मृत शरिर लाई हस्पिटल लग्यो । तबसम्म उनको गाँउमा दिलीपको हत्या भएको खबर पुगिसकेको थियो । जाडोको पुस महिना त्यतिबेला त्यस घटनाले सिङ्गो गाँउलाई एक किसिमको तातोपन महसुस भयो र पुर्वपश्चिम राजमार्ग स्थित रामलक्ष्मण चौकमा स्थानीयवासीहरुले सडक तताए । आक्रोशित स्थानीयको भीडले ढल्केबर वरिपरीको ठाउँमा सडक जाम गर्दै टायर जलाएर चर्को नारावाजी गर्दै प्रदर्शनमा उत्रिए । नेपाल प्रहरी र शसस्त्र प्रहरीहरुको टोलीले सडक खुलाउन क्रममा स्थानीयवासीहरुमाथि लाठी चार्ज, आँसु ग्यास, हवाई फायरसम्मको बल प्रयोग गर्नुप¥यो ।
त्यतिबेलाको घटनाको स्मरण गर्दा जोसुकैको मन पनि जिरिङ्ग हुन्छ । त्यसबेला उक्त घटनालाई दुर्घटनामा परिणत गर्न अनेकौं किसिमको चाल चलेपनि स्थानीयवासीहरुको दबाव र मिडियाहरुको अवाजले दिलीपको घटना नेपालको राजधानी काठमाडौंसम्म पुगिसकेको थियो । मिडियाको ठुलो भुमिकाले दिलीपको घटनालाई राष्ट्रिय स्तरको खबर बनाएर जनतालाई अवगत गराइसकेका थिए ।
हत्या आरोपमा धनुषा प्रहरीले चुरियामाई बालुवा प्रसोधन केन्द्रका क्रसर सञ्चालक विपिन महतोसहित सात जनालाई पक्राउ गरेको थियो । पक्राउ परेको मध्ये अदालतको आदेशमा धरौटी रकम बुझाएर चारजना रिहा भइसकेका छन् । दिलीप हत्या आरोपमा पक्राउ परेका रोशन कुमार यादव, विनोद महतो, सत्यनारायण महतो र सत्रुधन महतो रिहा भइसकेका छन् । मुनिन्द्र महतो, विपिन महतो र जितेन्द्र महतो पुर्वपक्षको लागि थुनामा छन् ।
दिलिप २५ वर्षकै उमेरमा पर्यावरणका लागि आफ्नो ज्यानको आहुती दिए । दिलिप मरेको ३ वर्ष बित्न लाग्दा पनि न्याय नपाएको अवस्था छ । दिलिपको मुद्दा धनुषा जिल्ला आदालतमा चलिरहेको छ । आजको मितिसम्म मा १०औ पटक पेशी सर्दा पनि न्यान पाएको छैन ।
न्यायको लागि दिलीपको बुबा रामजीवन महतो करिव साढे दुई वर्षदेखि अदालत धाइरहेका छन् । पटक पटक पेशी सर्दै गएपछि घरपरिवार निराश छन् । यस्तो संवेदनशील विषयमा पनि राज्यले तुरुन्त यस्ता अपराधीलाई कडा भन्दा कडा सजाय नदिई पिडित परिवारसँग न्यायलयले खेलबाड गरिरहेको छ ।
अहिले पनि क्रसर सञ्चालनमा छ । २०७७ वैशाख १ गते अदालतले नै सञ्चालन गर्न आदेश दियो । अहिले पनि नदी दोहन भइरहेको छ । अर्को, नदी दोहनका क्रममा बनेका खाल्डोमा बालबालिका खस्ने जोखिम उत्तिकै छ । यो तराईतिरको चुरे क्षेत्रमा धेरै ठूलो समस्या छ । कति धेरै बालबालिकाको मृत्यु नै भएको छ । जुन अवैध उत्खनन् र गैरकानुनी रुपमा सञ्चालित क्रसरलाई रोक्न संघर्ष गर्दा दिलिप मारिएपनि त्यो क्रसर र अवैध उत्खनन् आजसम्म बन्द भएको छैन । औरही खेलाको डिलमा चुरियामाई बालुवा प्रशोधन उघोग र औरही खोलामा उपकरण प्रयोग गरेर अवैध उत्खनन् अझैं चलिरहेको छ । यो अवैध धन्दा चलिरहँदा यस्तो लाग्छ कि राज्यसत्ता र शक्ति केन्द्रको हातबाट नै दिलीपको दिनहुँ हत्या भईरहेको छ । क्रसर सञ्चालनमा बाधा पु¥यायो भनेर सञ्चालकले उल्टै दिलिपका परिवारविरुद्ध मुद्दा हालेको थियो । अब पिडित परिवारले आफ्नो बचाउको लागि मुद्दा लड्ने कि छोराको न्यायको लागि लडोस् ।
दिलीप पर्यावरण संरक्षणकै क्रममा मृत्यु भएकोले उनलाई प्रथम राष्ट्रिय पर्यावरण सहिद घोषणा गर्नुपर्ने लगायतका माग राखेर नेपालका विभिन्न संघसंस्थाहरुले अवाज उठाउँदै आएका छन् । मधेसको जिल्लादेखि लिएर संघीय राजधानी काठमाडौंको माइतीघर मण्डेलासम्म कयौ पटक न्यायको लागि अभियानीहरु आवाज उठाउँदै आएका छन् ।
दिलिपको सपना साकार पार्न र पर्यावरण संरक्षणका निम्ति टेवा पुगोस् भन्ने उद्देश्यले मिथिला नगरपालिका–५ औरही बाबा सामुदायिक वनस्थित ओमप्रकाश महतो दिलिप पर्यावरण संरक्षण प्रतिष्ठानले दिलिप बाटिका निर्माण गरिहरेको छ ।




