महोत्तरी – महोत्तरीमा आज बुधबार होली पर्व धुमधामसहित मनाइँदैछ। १५ दिने धार्मिक मिथिला मध्यमा मंगलबार सम्पन्न अन्तरगृह परिक्रमापछि परम्पराअनुसार आज मात्रै स्थानीयहरूले होली उत्सव मनाउने गरेका छन्। पर्वको अवसरमा बिहानैदेखि स्थानीयहरूले रङ्ग र अविर लगाएर एकअर्कामा खुशीयाली बाँड्न थालेका छन्।
बालबालिका, युवापुस्ता र वृद्धवृद्धा सबैले मिलेर पर्वको रमाइलो वातावरण सिर्जना गरेका छन्। बजार र सार्वजनिक स्थलहरू रङ्गीन र उल्लासपूर्ण दृश्यले भरिएका छन्। बिहीबार प्रतिनिधि सभा निर्वाचन हुने भएकाले स्थानीय प्रशासनले होली पर्व शान्तिपूर्ण र भाइचारामैत्रिक वातावरणमा मनाउन अपिल गरेको छ।




महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले भने, “चुनावको सबै तयारी पूरा भइसकेको छ। पर्वलाई शान्तिपूर्ण र मर्यादित बनाउन सबै नागरिकले सहकार्य गर्नुपर्छ। सकेसम्म घर–परिवारमै होली मनाउन आग्रह छ।जिल्लाभर सुरक्षा बल परिचालन गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीय प्रशासनले पर्वको क्रममा कुनै अप्रिय घटना हुन नदिन निगरानी बढाएका छन्। पर्व र चुनावको तयारीलाई सँगसँगै व्यवस्थित बनाउन सुरक्षा र प्रशासनिक व्यवस्था दुवै सक्रिय रहेको जिल्ला अधिकारीले जानकारी दिएका छन्।
स्थानीयहरूले पनि प्रशासनको अपिलसँगै पर्वलाई शान्तिपूर्ण, सौहार्दपूर्ण र रमाइलो ढंगले मनाइरहेका छन्। यसरी महोत्तरीमा होली पर्वले सांस्कृतिक र धार्मिक परम्परासँगै सामाजिक एकताको संदेश पनि दिन थालेको छ।




