धनुषा- औरही गाउँपालिका–१ श्री रामजानकी माध्यमिक विद्यालय झिटकहियाका प्रधानाध्यापक मदन महरालाई कालोमोसो गरि अमानवीय व्यवहार गरिएको छ ।
कमला नगरपालिका–३ वर्ष ३४ वर्षीय मदन कुमार महरालाई असार ११ गते विद्यालयको परिसरमा कालोमोसो दलेर अमानवीय व्यवहार गरेको हो । कालोमोसो गर्ने आरोपित औरही गाउँपालिका–१ बस्ने ३१ वर्षीय सुजित यादव र ३७ वर्षीय रामनाथ यादवविरुद्ध जिल्ला प्रहरी कार्यालय धनुषामा असार १३ गते पीडितले उजुरी दिनुभएको छ ।
विद्यालयमा भौतिक निमार्ण तथा मर्मत सम्भारको लागि संघिय सरकार र प्रदेश सरकारबाट आएको योजनाअनुुसारको काम गर्ने सम्बन्धमा आयोजित अभिभावक भेलाको क्रममा आरोपितद्धयले प्रधानाध्यापक महरामाथी कालोमोसो गरि अमानवीय व्यवहार गरेको पीडित प्रधानाध्यापक महराले बताउनुभयो ।
प्रधानाध्यापकलाई मोसो दल्ने क्रममा बचाउन खोज्दा विद्यालयका कार्यालय सहयोगी जितो यादवलाई समेत आरोपितहरुले कुटपिट गरेको पीडित प्रधानाध्यापक महराले बताउनुभयो ।
प्रदेश सरकारबाट शैक्षिक सुदृढिकरण तथा सामान्य मरम्मत सम्भारका लागि प्राप्त ३० लाख र संघीय सरकार राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे भवन निर्माणका लागि प्राप्त ३६ लाख रुपैयाँलाई कुन हिसाबले सदुपयोग गर्ने र विद्यालयको शिक्षा तथा शैक्षिक सुधार र सरसल्लाह गर्नका लागि शनिबार आयोजित अभिभावक भेलामा विद्यालय व्यवस्थापन समिति गठन नगरिएको निहुँमा प्रधानाध्यापक महरामाथि व्यवहार गरिनु मानवअधिकार विपरित भएको मानवअधिकारकर्मी विनोद महराले बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय धनुषाले घटनाबारे प्रहरीमा उजुरी आएको र अनुसन्धान भई रहेको बताएको छ ।




