जनकपुरधाम- मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले बाढीबाट हुन सक्ने मानवीय तथा भौतिक क्षति न्यून गर्नका लागि प्राकृतिक विपत्तबाट क्षति न्यून गर्न सङ्घ, प्रदेश र स्थानीय तह सरकारको समन्वयमा विपत्त व्यवस्थापन प्राधिकरण गठन गर्नुपर्ने बताएका छन् ।

मधेश प्रदेश सरकार र नेपाली सेनाको संयुक्त आयोजनामा धनुषा तथा सिरहा जिल्लाको सिमानामा पर्ने बन्दिपुर स्थित कमला ब्यारेजमा आज आयोजित प्रदेश स्तरीय विपद् व्यवस्थापन संयुक्त अभ्यासको अवलोकन, अनुगमन गर्दै मुख्यमन्त्री राउतले मनसुनमा बाढी तथा डुबान, गर्मीमा आगलगी र चिसो मौसममा अत्याधिक चिसोका कारण सबैभन्दा बढी प्रभावित हुने मधेश प्रदेश भएकाले तीन तहको सरकारको सहभागितामा विपत्त व्यवस्थापन प्राधिकरण गठन गरेर उद्धारको कार्यमा लाग्न सके क्षति न्यून गर्न सकिने जानकारी दिए ।
उनले यसका लागि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष यस सम्बन्धी प्रस्ताव समेत पेश गरेको बताउँदै उनले तीन वटै सुरक्षाकर्मीको सहभागितामा भएको यो विपत्त व्यवस्थापन अभ्यासबाट आउने दिनमा बाढी तथा डुबानबाट हुने क्षति न्यूनिकरण गर्न महत्वपूणर् भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले सुरक्षा निकायहरूले विपद् प्रतिकार्यका लागि गरेको तयारी उत्तम रहेको बताउँदै उनले सुरक्षा निकायलाई तयारीमा अवस्थामा बस्न निर्देशन समेत दिए ।
मुख्यमन्त्री राउतले प्राकृतिक प्रकोपको उच्च जोखिममा रहेको मधेश प्रदेशमा विपद् न्यूनीकरणका लागि तीनै तहका सरकार बीच समन्वय र सहकार्यका साथै संयुक्त संयन्त्र निर्माण हुनुपर्नेमा जोड दिए ।

उनले बाढीबाट वर्षेनी जोखिममा पर्दै आएको क्षेत्रको पहिचान अहिले नै गर्नुपर्ने उल्लेख गर्दै जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने पूर्व तयारीमा कुनै कसर बाँकी नराख्न निर्देशन दिए ।
मधेश प्रदेशका गृह तथा सञ्चारमन्त्री भरतप्रसाद साहले विपदमा परेका नागरिकको उद्धार तथा पुनः स्थापनको काममा सुरक्षा निकायले कुनै पनि कसर बाँकी राख्न नहुने बताए।
कार्यक्रममा गृह तथा सञ्चार मन्त्रालयका सचिव रामकुमार शर्मा, धनुषाका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल सहितका सुरक्षा निकायका प्रमुख सहभागी थिए ।
उक्त अवसरमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त टोलीले बाढीबाट जनधनको क्षति न्यूनीकरणका लागि गरिने प्रयासहरूका बारे प्रयोगात्मक अभ्यास गरेका थिए ।
मनसुनका कारण हुने क्षति न्युनिकरणका लागी विपद् जोखिमको पूर्व तयारी स्वरुप प्रयोगात्मक अभ्यास गरिएको हो ।
सिरहाको कर्जना नगरपालिका बन्दिपुर स्थित कमला नदीमा मधेश प्रदेश सरकारको गृह तथा सञ्चार मन्त्रालयको सहयोगमा नेपाली सेना, सशस्त्र प्रहरी बल र जनपद प्रहरीले संयुक्त रुपमा १५ गते देखि नै विपत्त व्यवस्थापन सम्बन्धी अभ्यास गरिएको हो।

प्रयोगात्मक अभ्यासको अन्तिम दिन बिहिबार मधेश प्रदेश सरकारका मुख्यमन्त्री लालबाबु राउतको उपस्थित रहेको थियो ।
विपद् व्यवस्थापन तथा पूर्व तयारी गतिविधि लक्षित संयुक्त अभ्यासको क्रममा बाढी तथा डुबानमा परेको अवस्थामा कसरी उद्धार गरिन्छ भनेर उदाहरण (डेमो) प्रस्तुत गरिएको थियो ।

अभ्यासको क्रममा बाढीले बगाउँदै ल्याएको मानिसलाई कसरी उद्धार गर्ने र खोलाको बीच भाग लगायत कस्तो अवस्थामा कुन सामग्रीको प्रयोगबाट उद्धार गर्ने अभ्यास गरेर देखाइएको थियो।

अभ्यास कै क्रममा खोलाको बीच भागमा फसेका दुई जनाको हेलिकप्टरद्वारा उद्धार लगायत विभिन्न अभ्यास गरेर देखाइएको थियो ।




