काठमाडौँ : लोकतान्त्रिक समाजवादी पार्टी, नेपालका सांसद शरदसिंह भण्डारीले अर्थमन्त्री जनार्दन शर्माले तत्काल पद त्याग्नुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकपछि सोमवार अपरान्ह सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै उनले जनतामा आलोचित विषय गर्नेले नैतिकताको आधारमा तत्काल पद त्याग्नुपर्ने बताएका हुन्। यदि शर्माले पद नछोडे सरकारले कारबाही गर्नुपर्ने उनले बताए। सांसद भण्डारीले जनतालाई राज्यप्रति अविश्वास हुने गतिविधि गर्न नहुने पनि बताएका छन्। ‘जनतामा आलोचित विषयमा, मूल्य मान्यताविरुद्ध जुन कुरा आएका छन्। त्यो विषयमा तत्काल नैतिकताको आधारमा पद छोड्नुपर्दछ यदी नछोडे सरकारले कारबाही गर्नुपर्दछ। यो विषयमा म अन्त्यन्त गम्भीरतापूर्वक सरकारको ध्यानाकर्षण गराउँदछु।’ उनले नेपाली जनतालाई राज्यप्रति अविश्वास हुने र राज्यप्रति अनादर हुनेगरी कुरा गर्न नहुने पनि बताए। ‘यो विषयमा धेरै विवादित भयो। अर्थमन्त्रीले तत्काल पद छोड्नुपर्छ भन्ने मेरो मान्यता हो’, उनले थपे।







