विनय कर्ण,कल्याणपुर (सप्तरी)- सप्तरी प्रहरीले चोरी तथा सवारी ज्यान मुद्दामा फरार रहेका आठ जना प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानमा भएका चोरीका घटनामा संलग्न सात जना तथा सवारी ज्यान मुद्दामा फरार रहेका एक जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजविराज नगरपालिका–७ का २० वर्षीय कृष्ण सोनियार रहेका छन् । उनी राजविराजस्थित शिव मन्दिर परिसरमा रहेका शशी पान पसल र विमल जनरल पसलबाट चोरी गरी फरार रहेका थिए । उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।



त्यसैगरी, राजविराज नगरपालिकाको कार्यालयको कोठाको ताला फुटाएर ल्यापटप चोरी गरी फरार रहेका छिन्नमस्ता गाउँपालिका–४ निवासी २० वर्षीय आदित्य राजतलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
यस्तै, राजविराज नगरपालिका–१६ स्थित एक घरबाट विभिन्न सामान चोरी गरी फरार रहेका पाँच जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज–१६ का ३० वर्षीय दीपेश भनिने अमरनाथ यादव, १८ वर्षीय अजय सदा, २१ वर्षीय मोहम्मद खुसे, १८ वर्षीय जयकान्त चौधरी र १८ वर्षीय रितेश चौधरी रहेका छन् । उनीहरूविरुद्ध पनि चोरी मुद्दा दर्ता गरी अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक पुरीले बताउनुभयो ।
यसैबिच, कञ्चनरूप नगरपालिका–८, विष्णु मन्दिर टोलमा गत वैशाख ३० गते भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएपछि फरार रहेका रुपनी गाउँपालिका–६ निवासी ५८ वर्षीय शिवनारायण महतोलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीविरुद्ध सवारी ज्यान मुद्दा दर्ता गरी अदालतबाट सात दिनको म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।-गोरखापत्र




