मिटरब्याजी प्रकरण अन्तर्गत ठगी तथा अपराधिक विश्वासघात मुद्दाका अभियुक्त भनिएका सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरका दाजु–बहिनी नन्दकिशोर साह र अनुराधा साहलाई बुधवार जिल्ला अदालत सप्तरीले जेल चलान गरेको छ । न्यायाधीश सुर्यनाथ प्रकाश अधिकारीको इजलासले दाजु बहिनीलाई पूर्पक्षका लागि जेल चलान गरेको हो । अघिल्लो दिन मंगलबार दुवैको वयान सकिएपछि बुधवार अबेर साँझसम्म थुनछेक वहस भएको थियो ।
वहस सकिएपछि साह दाजु बहिनीलाई राजविराज जेल पठाइएको हो । दुवै पक्षको वहस सकिएपछि दाजु बहिनीलाई पूर्पक्षका लागि थुनामा राख्ने आदेश भएको सप्तरी जिल्ला अदालतका श्रेस्तेदार कुमार मास्केले बताए । ठगी तथा अपराधिक विश्वासघात मुद्दाका मुख्य अभियुक्त मानिएका रामदेव साह भने अझैं फरार छन् । साह दाजु बहिनीका बुवा समेत रहेका रामदेवको भने खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले बताए । साह परिवारमाथि जग्गा तथा सुनचाँदीको गरगहना बन्धकी राखेर चर्को मिटरब्याज असुली गर्ने र कतिपय व्यक्तिले लिएको ऋण र व्याज चुक्ता गरिसकेपनि धितो फिर्ता नगरेको आरोप छ ।
पीडितहरुको उजुरीको आधारमा उनीहरु उपर ठगी तथा अपराधिक विश्वासघात मुद्दा चलाइएको प्रहरीको भनाइ छ । पीडितहरुको तर्फबाट प्रदेश कानून अधिकृत समेत रहेकी अधिवक्ता किरणकुमारी साह, अधिवक्ताहरु समिम अख्तिर, भरत यादव, महेन्द्र साह, सुरेन्द्र साह तथा आरोपित प्रतिवादीहरुको तर्फबाट अधिवक्ता बालकिशोर यादव, अशोक चौधरी, कृष्णकुमार केसी लगायतका कानून व्यवसायीले वहस पैरबी गरेका थिए । यता, ठगी तथा अपराधिक विश्वासघात गरेको आरोपमा पक्राउ परेका दाजु बहिनीको थुन छेक बहस भइरहदा अदालतको मूल ढोकामा बुधवार पनि साह परिवार विरुद्धमा पीडितहरुले दिनभर प्रदर्शन र नाराबाजी गरेका थिए । विहानैदेखि जम्मा भएका पीडित भएकाहरुले अदालतको ढोकामा धर्ना दिएर नाराबाजी गरिरहे ।
उनीहरुले मिटरब्याज लिएर आफुहरुलाई उठिवास गराउने साहुकार साह परिवारलाई कारवाहीका लागि दबाब दिन धर्ना र प्रदर्शन गरेको बताए । अदालतबाट साह परिवारलाई पूर्पक्षका लागि कारागार पठाउने आदेश भएको खबर आउनासाथ उनीहरु खुशी मनाएका छन् ।




