ढल्केवर- मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाले मिथिला नगरपालिका–४ पुष्पवलपुरस्थित रहेको भाटीघारी सामुदायिक वन उपभोक्ता समिति मातहत रहेको वनगस्ती टोली, कृषि समूह र उपसमितिलाई विभिन्न सामग्री प्रदान गरेको छ ।
मिथिला वाइल्ड लाइफ ट्रस्टले सहकारी संस्था कार्यालय सञ्चालनका लागि कम्प्युटरलगायत विभिन्न सामग्री, कृषि समूहलाई बीउ वितरण र वनगस्ती समूहलाई सुरक्षा सामग्री प्रदान गरेको हो ।
मिथिला वाइल्ड लाइफ ट्रस्टका अध्यक्ष देवनारायण मण्डलका अनुसार वन उपभोक्ता समिति मातहत रहेको वनगस्ती समूहका १० जनालाई जुत्ता, टर्च, पानी बोतललगायतका सामग्री प्रदान गरेको छ । उनीहरुलाई एक थान क्यामरोसमेत उपलब्ध गराइएको छ । वनगस्तीको क्रममा देखिने वन्यजन्तु तथा चराचुरुङ्गको तस्बिर कैद गर्न उच्च गुणस्तरको क्यामरा उपलब्ध गराएको छ । वनगस्ती समूहका सदस्यहरुलाई ट्रयाक्सुट र ब्यागसमेत छिट्टै उपलब्ध गराउने उनले बताए ।
यसैगरी मिथिला वाइल्ड लाइफले वनमाथि निर्भर विपन्न महिलालाई वैकल्पिक रोजगार प्रदान गर्ने उद्देश्यले वन उपभोक्ता समिति मातहत रहने गरी सञ्चालन गरिएको बहुआयमिक आयआर्जन विपन्नवर्ग महिला उपसमितिको कार्यालयलाई कम्प्युटर सेट, दराज, टेबुल, कुर्सी पंखालगायत सामग्री प्रदान गरिएको छ । सो सहकारी संस्था सञ्चालनका लागि मिथिला वाइल्ड लाइफले सात लाख रुपियाँ चुक्ता पुँजी खडा गरिदिएको छ ।
यस्तै उपसमितिसँग आवद्ध कृषि पेशाका संलग्न ३२ जना महिलालाई विभिन्न तरकारीको बिउ उपलब्ध गराएको छ । उनीहरुलाई अग्र्यानिक तरकारी उत्पादन गर्न प्रशिक्षणसमेत दिइएको छ ।
सो अवसरमा युएन मधेश प्रदेशकी संयोजक प्रिंयका झाको समेत उपस्थित रहेको थियो ।