
जनकपुरधाम- सर्वोच्च अदालतले धनुषा जिल्ला अदालतका न्यायाधीश परशुराम भट्टराईलाई काजमा तानेको छ । सोमबारदेखि नै लागू हुने गरी उनलाई काजमा सर्वोच्च अदालतमा तानिएको सर्वोच्च अदालत स्रोतले जानकारी दिएको हो । न्यायाधीश भट्टराईले गरेका केही फैसला विवादित भएपछि उनलाई जिल्ला न्यायाधीशको जिम्मेवारीबाट हटाएर काजमा तानिएको स्रोतको भनाइ छ ।
उनले गोली हानेर व्यवसायीको हत्या गरेको अभियोग लागेका व्यक्तिलाई प्रमाण नपुगेको भन्दै सफाइ दिएका थिए । पेस्तोल र गोलीसहित पक्राउ परेका आरोपितलाई सफाइ दिने फैसला विवादित बनेको थियो । पछिल्लो समय सर्वोच्च अदालतले फैसलामा कैफियत देखिएका तथा विवादास्पद फैसला गरेका विभिन्न न्यायाधीशलाई काजमा तान्ने कार्यलाई तीव्रता दिएको छ ।
यस्तो थियो घटना र अभियुक्त
जिल्ला अदालत धनुषाबाट प्रमाण अपुग भएपछि हत्याका अभियोग लागेका एक व्यक्तिले सफाई पाएका छन् । जनकपुरधाम उपमहानगरपालिका–१ का पेट्रोल पम्प सञ्चालक मनोज साहको हत्या अभियोग लागेका जनकपुरधाम–१४ मुजेलिय बस्ने पंकज भनिने दामोदर चौधरीलाई अदालतले प्रमाण पुगेको भन्दै सफाइ दिएको थियो ।
न्यायाधीश भट्टराईको इजलासले अभियोग दाबी अनुसार प्रमाण नपुगेका कारण दामोदरलाई सफाइ दिएको धनुषा जिल्ला अदालतका सूचना अधिकारी गंगाकुमार मिश्रले जानकारी दिएका छन् । दामोदरलाई प्रहरीले घटनालगतै छिमेकीको घरमा लुकेर बसेको अवस्थामा २ थान पेस्तोल र २२ राउन्ड गोलीसहित पक्राउ गरेको थियो । घटनास्थलबाट प्रहरीले अटोमेटिक पेस्तोल र ४ राउन्ड गोली तथा पंकजको झोलाबाट १ थान कटुवा पेस्तोल र त्यसको २ राउन्ड गोली तथा अटोमेटिक पेस्तोलको १५ राउन्ड गोली बरामद गरेको थियो ।
हत्या आरोपमा दामोदरलाई आजीवन कैद सजाय माग गरी पीडित परिवारले जिल्ला अदालत धनुषामा मुद्दा दायर गरेको थियो । पंकजलाई जिल्ला अदालत धनुषाले २०७६ मंसिर ४ गते पुर्पक्षका लागि महोत्तरीको जलेश्वर कारागार चलान गरेको थियो । प्रहरीका अनुसार त्यसबेला अनुसन्धानका क्रममा पंकजले आफूले हत्या गरेको स्वीकार पनि गरेका थिए ।
मनोज आफ्ना साथी अमित साहलाई लिएर पंकजको घरमा उधारो पैसा माग्दा विवाद उत्पन्न भएपछि हात हालाहाल भएको थियो । सोही क्रममा पंकजले गोली हानेको आरोप लागेको थियो । गोली प्रहारबाट मनोजको घटनास्थलमै मृत्यु भएको थियो ।
मनोजले धनुषाको सपहीस्थित सञ्चालन गरेका पेट्रोल पम्प शिव आयल स्टोरबाट निर्माण व्यवसायी पंकजले डिजेल पेट्रोल उधारो लिएका थिए । इन्धनको बाँकी बक्यौता ८ लाख रुपैयाँका लागि ताकेता गर्न जाँदा मनोजको हत्या भएको थियो ।
रातोपाटीको सहयोगमा