जनकपुरधाम । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिमाथि काठमाडौंको केन्द्रीय कार्यालय नजिकै भएको दुर्व्यवहारको विरोधमा कांग्रेसका कार्यकर्ताहरू जनकपुरधाममा विरोध प्रदर्शनमा उत्रिएका छन् ।
विरोध स्वरूप पिडारी चोकमा चक्काजाम गरिएको छ भने कांग्रेस महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाको पुत्ला दहन गरिएको छ ।
काठमाडौंमा भएको घटनापछि सानेपामा पत्रकारहरूसँग कुरा गर्दै नेता निधिले दुर्व्यवहारलाई निन्दनीय भनेका छन् । उनले भने, ‘उछ्शृंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो। यसैमा अलमलिने काम पनि छैन ।’
निधिका अनुसार मधु आचार्यले पार्टीको केन्द्रीय कार्यालय घेर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको भए पनि उनलाई असभ्य व्यवहार गरिएको थियो ।
‘विशेष महाधिवेशनको आयोजक पक्षधर यहाँ थिएनन् । अब कोही हुलदंगा गर्ने, गुण्डागर्दी गर्ने उछ्शृंखल तत्वहरू आए । त्यो हुनु हुँदैन थियो,’ निधिले भने ।
घटनामा निधिले गाडीबाट ओर्लिएपछि दुई–चार जना अपरिचित व्यक्तिहरूले उनको बाटो रोक्ने प्रयास गरेको र गाडीको हुट नै फर्काएको बताएका छन् । उनले थपे, ‘तिनीहरू कांग्रेसी थिएनन् । मुखबाट रक्सी गन्हाइरहेको थियो । उछ्शृंखल तत्वहरू नै थिए । यो निन्दनीय काम हो ।’
नेता निधिले प्रशासनको सुरक्षा जिम्मेवारीमा पनि प्रश्न उठाएका छन् । उनका अनुसार पार्टीको आफ्नै कार्यालयमा प्रशासनिक सुरक्षा सुनिश्चित गर्न आवश्यक थियो । ‘हामी आउँदा गाडी ब्लक थियो । कार्यालयभित्र प्रवेश गर्न सक्ने अवस्था थिएन,’ उनले भने ।
यस घटनाप्रति विरोध स्वरूप जनकपुरधामका कांग्रेस कार्यकर्ताहरूले पिडारी चोकमा चक्काजाम गरेका छन् । साथै, विरोधको रूपमा महामन्त्री विश्वप्रकाश शर्मा र गगन थापाको पुत्ला दहन गरिएको छ । प्रदर्शनकारीहरूले नेता निधिमाथि भएको दुर्व्यवहार स्वीकार्य छैन भन्दै विरोध जनाएका छन् ।
मलाई अवरोध गर्ने कांग्रेसी होइनन् : विमलेन्द्र निधि
नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभएको बताएका छन्।विशेष महाधिवेशन माग गर्दै प्रदर्शनमा रहेकाहरू र केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपा पुगेका नेता निधिसँग धकेलाधकेल भएको थियो।

तर आफूलाई दुर्व्यवहार गर्ने विशेष महाधिवेशन पक्षधर नभई गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्व भएको बताए।
उनले भने, ‘ती गुण्डागर्दी गर्ने उच्छृङ्खल तत्त्वहरू हुन्। त्यो सरकारको पनि कर्तव्य हुन्छ, कुनै एउटा अफिसमा गएर बाटो छेक्ने, बाधा खडा गर्ने प्रयास गर्ने म आउँदा खेरि गाडी, गाडी भित्र पस्ने अवस्था थिएन।’
आफू गाडीबाट ओर्लिएपछि आफूलाई रोक्ने केटाहरूलाई नचिनेको पनि बताए।




