धनुषा- धनुषाको बटेश्वर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामजी जोशीलाई कुटपिट गरिएको छ । गाउँपालिका कै कर्मचारी र उपभोक्ता समितिका प्रतिनिधिले उनलाई बुधबार कार्यकक्ष मै कुटपिट गरेका छन् ।
श्रम तथा रोजगार मन्त्रालयबाट आएको पत्रमा तोक लगाउन पुगेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृत जोशीले गालीगलौज गर्दै हातपात गर्न थालेपछि गाउँपालिकाको कार्यालयमा कार्यरत करारका कर्मचारीले उनलाई कुटपिट गरेका हुन् ।
सोही समयमा घेराउ गर्न पुगेका उपभोक्ता समितिका प्रतिनिधिले समेत उनलाई कुटपिट गरेको बताइएको छ । सम्पन्न योजनाको भुक्तानी दिन आलटाल गरेको भन्दै आजित भएका उपभोक्ता समितिका प्रतिनिधिहरुले पनि प्रशासकीय अधिकृत जोसीमाथि कुटपिट गरेको स्थानीयले बताएका छन् ।
‘कमिसन लिएर धेरै पार्टीहरुसँग प्रशासकीय अधिकृत सरले काम गराउनुभएको छ । ती योजनाको कागजमा जबर्जस्ती कर्मचारीलाई सहीछाप गर्न दबाब दिइराख्नुभएको थियो । नियम विपरित उहाँको आदेश अनुसार काम गर्न नमान्ने कर्मचारीलाई गालीगलौज गर्ने, धाकधम्की दिने गर्नुहुन्थ्यो,’ कुटपिट गरिएको देखेका एक प्रत्यक्षदर्शी कर्मचारीले भने, ‘रामजी सरले आजपनि त्यस्तै गालीगलौज गरेर हातपात गर्न थालेपछि कर्मचारीले प्रतिवाद गरेका थिए ।’
कर्मचारी बीच कुटाकुट भएको खबर आएपछि प्रहरी घटनास्थलमा पुगेको धनुषाका प्रहरी उपरीक्षक बसन्त रजौरेले बताए ।
आठ लाख घुस काण्डमा मुछिएका यस अघिका निवर्तमान गाउँपालिका अध्यक्ष डम्बर बहादुर राउत क्षेत्रीलाई कमिसन दिने प्रभावमा लिएर उनले एकलौटी मोटो कमिसनको सेटिङमा रौतहटका एउटै निर्माण कम्पनीलाई एक दर्जन बढी योजना दिएको राज खुलेको थियो ।
उनी बटेश्वर गाउँपालिकामा आय देखि नै गाउँपालिका कार्यालयमा व्यापक अनियमितता भएको स्थानीयको आरोप छ । बिना कमिसन र सेटिंंगको कुनै काम उनले गर्न नमानेको उपभोक्ता समिति तथा ठेकेदारहरुको जानकारी दिएका छन् ।




