
जनकपुरधाम- आज साउन महिनाको पहिलो सोमवार । प्रायः महिलाका नाडी काँचका हरिया चुरामा सजिएको देखिन्छ। साउन लागे लगत्तै हिन्दू महिलामा छुट्टै उत्साह र उमंग छाएको छ। रातो, पहेँलो र हरियो चुरापोते तथा कपडा मलिाहरूको रोजाइमा परेको छ।

पछिल्ला वर्षमा किशोरीहरुमा समेत मेहन्दी र हरियो चुरा लगाउने ‘क्रेज’ बढेको छ। ‘क्रेज’ बढ्नुलाई धार्मिक विश्वास तथा फेसनका रूपमा लिन सकिन्छ।
विशेषगरी साउनको सोमबार शिवजीको व्रत र पूजा गर्ने चलन छ। यद्यपि, यस महिनाका सबै दिन उत्तिकै महत्वका साथ लिइन्छ।

जनकपुरधामकी स्थानीय तथा नेपाल पत्रकार महासंघकी केन्द्रिय सदस्य रिंकु गायत्री मिश्र आफूले धार्मिक विश्वासका कारण चुरा लगाएको बताउँछिन्। ‘साउनमा हरियो चुरा लगाउँदा चिताएको पुग्छ भन्छन्, मैले पनि लगाएँ,’ उनले भनिन्।

साउन महिना धार्मिक, सांस्कृतिक एवं प्राकृतिक दृष्टिकोणले महत्वपूणर् भएकाले महिनाभरि आफू हरियो चुरा लगाउने मधेस प्रदेश चलचित्र तथा लोकसञ्चार प्रवद्र्धन बोर्डकी सदस्य समेत रहेकी जनकपुरधामकी पुष्पा यादवको भनाइ छ। उनले हरियो चुरासँगै मेहन्दीले हात सजाए।

क्षीरेश्वरनाथ नगरपालिका महेन्द्रनगरकी सपना गिरिले साउने संक्रान्तिका दिन परम्परादेखि चलिआएको लुतो फाल्ने चलन विस्तारै हराउँदै गएको तर हरियो चुरा तथा मेहन्दी लगाउनेको संख्याचाहिँ वर्षैंपिच्छे बढ्दै गएको बताइन्।
‘परिवारमा भएका सदस्यका हत्केला र पाखुरामा मेहन्दी तथा चुरा देखेपछि सबैले रहरले लगाउने गरेका छन्,’ उनले भनिन्, ‘घरैभरि सबैले लगाएका छन्, कसैको हात खाली छैन।’

कतिपयले हरियो चुरा लगाइसकेपछि फुटाउनु हुँदैन भनेर महिनाभर होसियारी अपनाउने गर्दछन्।
साउनमा श्रृंगारका सामान अन्य महिनाको तुलनामा निकै बिक्री हुने व्यापारीहरू बताउँछन्।
साउनको पहिलो दिनदेखि नै बजारमा रहेका श्रृंगार सामानका पसलमा चुरापोते, हरिया, राता, पहेँला बस्त्र खरिदकर्ताका भिड बढेसँगै व्यापार बढिरहेको व्यापारीहरूको भनाइ छ।
महेन्द्रनगर स्थित मीना शृंगार पसलकी प्रोप्राइटर मीना देवी साहले मध्य असारदेखि नै हरियो चुराको बिक्री बढेको बताइन्।

यस महिनाको सोमबार शिवको मन्दिरमा पूजा गर्न जाने महिलाको घुइँचो हुने गर्छ। विशेषगरी विवाहित महिला यसमा सहभागी हुने र व्रत पनि बस्ने गर्छन्। महिलाहरूले पतिको सुख, शान्ति र दीर्घायुको कामना गर्दै व्रत बस्ने गर्दछन्।

जनकपुर उपमहानगरपालिका भानुचोक बस्दै आएकी तुलसा भट्टराईले पनि साउन महिनाको पहिलो दिनदेखि नै हातमा हरियो चुुरा, मेहेन्दी र राता कुर्था सुरुवालमा सजिएर हिँड्ने र सोमबार व्रत समेत बस्न थालेको बताउँछिन्।
उनका श्रीमान् वैदेशिक रोजगारको सिलसिलामा साउदीमा छन्। श्रीमान्को दीर्घायुको कामना गर्दै साउने सोमबारमा व्रत बस्ने योजना बनाएकी छिन् उनले।

उनले आफ्नी सानी छोरीलाई समेत हातभरि हरियो रङको चुरा र मेहेन्दी लगाइदिएकी छन्।
साउन महिनामा घरायसी महिलादेखि अफिसमा काम गर्ने र ड्युटीमा खटिएका कतिपय महिला ट्राफिक प्रहरी समेतले हरियो चुरा लगाएको देखिन्छ ।
हरियो चुरा पोते लगाउने शास्त्रीय मान्यता नभए पनि यसको चलन बढ्दो छ।
हातमा हरियो, रातो र पहेँलो चुरा लगाएर शिवजीको पूजा गर्दा खुसी बढ्ने कतिपय महिलाहरू बताउँछन्। महिलाहरू आफ्नो श्रीमान्को सुस्वास्थ्यको लागि सोमबारको व्रत बस्ने विश्वास गरिन्छ। यो एउटा आस्था पनि हो। सबै हिन्दू नारीको साउन महिना चाड बन्न पुगेको छ।

कतिपयले यसलाई अनावश्यक तडकभडकको रूपमा पनि मनाउन थालेका छन्। नेपालमा मात्र नभएर विदेशमा पनि यो चलन फस्टाएको देखिन्छ।
हिन्दू धर्म संस्कृति मान्ने महिलाहरूमा मात्र सीमित मेहन्दी र चुरा हिजोआज सबैजसो महिला र युवतीको रोजाइमा पर्छ।
‘पहिले गाउँघरमा मेहन्दी पाइँदैन थियो। मेहन्दी लगाउने चलन पनि थिएन। महिलाहरूले आँगन र बारी जताततै पाइने तिउरे फूलको पात हत्केलामा दल्थे। हिजोआज तिउरेको ठाउँ मेहन्दीले लिएको छ,’ वर्दिवासकी महिला अधिकारकर्मी उर्मिला कार्कीले भनिन्।
साउनमा हरियो चुरा/मेहन्दी लगाउँदा आफ्नो घरमा राम्रो हुने तथा सर्पदंशबाट जोगिइने विश्वास छ। तर पछिल्लो समय धार्मिक आस्थाको आधारमा मात्र नभई देखासिकीका रुपमा पनि चुरा/मेहन्दी लगाइएको कतिपयको बुझाइ छ।
के छ पौराणिक मान्यता ?
पौराणिक मान्यता अनुसार साउन महिना शिवको महिनाका रुपमा लिइन्छ। पार्वतीले साउन महिनाभरि निराहार रही कठोर व्रत बसेर ‘भगवान शिव’लाई प्राप्त गरेको प्राचीन विश्वासको आधारमा महिलाहरूले यसलाई बढी महत्वको रुपमा लिने गर्छन्।
साउनमा हरियो पहिरदा शिव खुसी हुने धार्मिक विश्वास छ।
हरियो रंग प्रकृति, उर्वरता, बहुलता, सौभाग्य र सकारात्मक उर्जाको वृद्धिको प्रतीक रहेको पनि कतिपयको बुझाइ छ।
हरियो उपचारको रंग पनि हो जो मुटसँग जोडिएको हुन्छ। उच्च रक्तचापको समस्याका लागि पनि हरियो राम्रो मानिन्छ। विवाहित जोडिको सुमधुर सम्बन्धमा पनि ‘बेडरुम’को दक्षिण पूर्वी हिस्सामा हरियो रङ लगाएमा दाम्पत्य जीवन सुखी हुन्छ भन्ने वास्तुशास्त्रमा उल्लेख गरिएको छ।
यस कारण लगाइन्छ हरियो
शास्त्री नविन प्रियदर्शीका अनुसार हरियो रङ सौभाग्यको प्रतीक हो। साउन महिना हरियालीको महिना पनि हो र यो महिना प्रकृतिसँग आफूलाई जोड्ने महिना पनि हो। यस महिनामा हरियो रङका कपडा लगाएर प्रकृतिसँग नजिकिने गरिएको हो।
शास्त्रमा प्रकृतिलाई ईश्वरको रुपमा लिइन्छ। हरियो चुरा र साडी लगाएर नारीले प्रकृतिलाई विशेष पुजा गरेमा आफू र पतिको आयू समेत बढने धार्मिक विश्वास छ।

संस्कृतिविद् तथा वरिष्ठ पत्रकार रामभरोस कापडी ‘भ्रमर’का अनुसार हरियोलाई प्रेमको, रातोलाई शौभाग्यको एवं पहेँलोलाई पवित्रताको प्रतीकका रूपमा लिइन्छ। हरियो रङ बुध ग्रहको समेत प्रतीक रहेको बताइन्छ। बुध ग्रह भविष्य तथा व्यापारसँग जोडिने धार्मिक मान्यता छ।