सुजाता राई
विराटनगर । असोज ९ गते बिहीबार बिहान। घरको काममा व्यस्त भएकी म आफन्त रिता भाउजुको आकस्मिक फोनले अत्तालिएँ। “बहिनी, न्यूरो हस्पिटल आउनुपर्छ, बोल्ने कोही छैन,” भन्ने उनको आग्रहसँगै आफ्नो काम थाती राखेर म अस्पताल पुगेँ।
हस्पिटलमा पुगेपछि देखेको दृश्य मन काँपाउने खालको थियो— आमा छटपटाइरहेकी, बहिनीले सम्हाल्दै थिइन्, देवरले काखमा सानो बच्चा भतिजी बोकेका थिए।
केही समय कुर्दा मात्र मलाई वरिष्ठ फिजिसियन डा. विवेक कट्टेल भेट्न समय मिल्यो। उनले दुःखी स्वरमा भने, “बचाउन प्रयास गरियो, तर अवस्था जटिल बन्दै गयो, अन्ततः प्राण जोगाउन सकिएन।”
यो सुन्दा हृदय चिरियो। सोधपुछ गर्दा उदायपुर गायघाट बोक्से गा.प. १० मा घर भएको “एलिशा राई”भर्खरै मात्र कक्षा १० मा पढ्ने १६ वर्षीया बालिका मृत्यु भइसकेकी थिइन्। सोमबार बेलुकी टाउको दुखेको भन्दै गाईघाटको अस्पताल पुर्याइएकी उनलाई मंगलबार विराटनगर ल्याइएको थियो। दुई दिनको उपचारपछि बिहीबार उनको मृत्यु भयो।
बालिकाका पिता पहिले नै बितिसकेका रहेछन्। आमा कला राई ले छोरी बचाउन घरको गहना बेचेर उपचारमा लगाइन्, तर जीवन जोगाउन सकिनन्। अझ कटु कुरा— अब त उनीहरूसँग शव घर लैजाने खर्च समेत थिएन।
त्यो पीडादायी घडीमा मैले सकेसम्म सहयोग गर्ने प्रयास गरेँ— औषधि पसल र अस्पतालमा छुट दिलाउनेदेखि एम्बुलेन्सको व्यवस्था मिलाएर घर पठाइयो। अपरिचित परिवारलाई सानो साथ दिन पाउँदा मन हल्का भयो, तर घर फर्किँदा आँखा रसाइरहे— “कलिलो मुनि अकालमा झरेको पात” सम्झेर।
दसैंको चहलपहलबीच कसैका घरमा उज्यालो छ भने कतै यस्तै अन्धकार छ। यही हो जीवनको वास्तविक दास— एक पीडित परिवारको उद्गार।







