जनकपुरधाम- प्रत्येक वर्ष धुमधाम साथ जनकपुरधाममा मनाइने रामजानकी विवाह महोत्सवको तयारी थालिएको छ।
यही मंसिर २६ गतेदेखि पुस २ गतेसम्म जनकपुरधाममा आयोजना हुने रामजानकी विवाह महोत्सवको तयारी सन्दर्भमा आइतवार जानकी मन्दिरमा सर्वपक्षीय बैठक समेत सम्पन्न भएको छ ।



त्रेता युगमा भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको सम्झनामा जनकपुरमा प्रत्येक वर्ष हर्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनाउने गरीन्छ। प्रत्येक वर्ष सप्ताहव्यापी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ । त्रेतायुगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको भन्ने गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयम्बर गरि वैदिक परम्पराअनुसार विवाह गर्ने प्रचलन छ।
त्रेता युगमा जनकपुरधाममा राजा जनकद्वारा धनुष भङ्गको प्रस्ताव राख्नु, धनुष भङ्ग गर्नेसँग पुत्री सीताको विवाह गर्नु र अयोध्याका राजकुमार रामद्वारा गुरू विश्वामित्रसँग जनकपुरधाम आई धनुष भङ्ग गरी सीतासँग स्वयमवर गर्नु आदि स्मृतिमा सीताराम विवाह महोत्सव यहाँ मनाउने चलन रहेको छ ।
रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको सो स्वयम्वरमा विभिन्न देवी देवताको उपस्थिति रहेको थियो । यसै प्रसङ्गलाई विभिन्न पक्षद्वारा प्रतीकात्मक रूपमा देखाउनु नै सीताराम विवाह महोत्सवको विशेषता रहेको छ । बैठकले यही पृष्ठभूमिलाई सफल र भव्यता प्रदान गर्न मूल समिति, उपसमिति गठन र व्यवस्थापनका विविध आयामबारे छलफल र कार्यान्वयनमा जोड दिएको छ ।
समारोहका लागि एक सय ५१ सदस्यीय मूल समिति र स्वास्थ्य, यातायात, सुरक्षा, खानेपानी, प्रचारप्रसार, मञ्च व्यवस्थापन, सजावट, दीपावली उत्सवको व्यवस्थापनका लागि उपसमितिहरु पनि गठन गरिएको छ । गत वर्षमा प्रदेश सरकारले महोत्सवका लागि रु २० लाख विनियोजन गरेको थियो तर यस वर्ष प्रदेश सरकारले महोत्सवका लागि रकम विनियोजन नगरेकोप्रति सहभागीहरुले चिन्ता व्यक्त गर्दै रकम विनियोजनका लागि प्रदेश सरकारलाई आग्रह गर्ने सुझाव दिएका छन् ।
सीताराम विवाह महोत्सवको साताव्यापी कार्यक्रमअन्तर्गत मङ्सिर २६ गते जनकपुरधाम नगर दर्शन, २७ गते फूलवारी लीला, २८ गते धनुष यज्ञ, २९ गते तिलकोत्सव, ३० गते मटकोर, पुस १ गते स्वयम्वर तथा विवाह उत्सव र २ गते राम कलेवा रहेको जानकी मन्दिरका महन्त रामतपेश्वर दास बैष्णवले बताएका छन् ।
यसका साथै विवाह पञ्चमीका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरिने कार्यक्रम पनि रहेको सहायक महन्त रामरोशन दास बैष्णवले बताएका छन् । सीतालाई छोरी, बहिनीका रूपमा मान्ने मिथिलावासी महोत्सवमा देवीदेवताको सहभागिता सशरीर नभए पनि अदृश्य रूपमा उपस्थिति हुने विश्वासले हर्ष र उल्लासका साथ प्रतिछाया जन्तीको आगमनदेखि बिहेसम्म सहभागी हुने गरेको जानकार डा राजेन्द्र विमलले बताए ।




