
जनकपुरधाम- असारको दोस्रो सातादेखि पानी नपर्दा मधेस प्रदेशका जिल्लामा किसानले लगाएको धान खेती पहेंलो हुँदै डढ्न थालेको छ। खेतमा धाँजा फाटेको छ। साउन महिनाको सुरुवात भए पनि वर्षा नहुँदा मधेसमा खडेरी परेको छ।
साउन महिनाको पहिलो साता सुरु भए पनि पर्याप्त मात्रामा वर्षा नभएका कारण मधेश प्रदेशमा अहिले सम्म ५७ प्रतिशत मात्र धानको रोपाइँ भएको छ ।
धान रोपाइँ वर्षाका कारणले पर्याप्त मात्रामा हुन नसकेपछि किसानहरू चिन्तित बनेका छन् ।
मधेश प्रदेशको दुई तिहाइ धान खेतमा आकाशे पानीको भरमा खेती हुने गरेका कारण धान रोपाइँ सकिनुपर्ने बेलामा अझै ४३ प्रतिशत खेतमा धान रोपाइँ हुन नसकेको मधेश प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. नम्रता सिंहले जानकारी दिए । किसानहरू अहिले स्यालो ट्युबवेल तथा डिप ट्युबवेलको सहारा मार्फत धानको रोपाइँ गरिरहेका छन् ।
आकाशे पानीकै भरमा अधिकांश किसानले खेती गर्ने मधेस प्रदेशका आठै जिल्लामा ५ लाख ५५ हजार २१८ हेक्टर खेतीयोग्य जमिन छ। जसमध्ये ४ लाख ५ हजार ४ सय ५० हेक्टरमा मात्रै धान रोपाइँ हुने गरेको छ।
मधेश प्रदेशको धान खेती हुने क्षेत्रफलमध्ये २ लाख २९ हजार १ सय ६७ हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको मन्त्रालयका सूचना अधिकारी एवं कृषि अधिकृत मनिष पालले जानकारी दिए । गत वर्ष पर्याप्त वर्षा हुँदा असार भित्रै ७० प्रतिशत रोपाइँ भएको थियो।
प्रदेशमा सबैभन्दा बढी सप्तरीमा ७५ प्रतिशत तथा सबैभन्दा कम पर्सामा ४२ प्रतिशत क्षेत्रफलमा धानको रोपाइँ भएको छ ।
यसका साथै बारामा ६०, सिरहा र सर्लाहीमा ५५, रौतहटमा ५०, महोत्तरीमा ४५ प्रतिशत क्षेत्रफलमा धान रोपाइँ भएको छ ।
धान रोपिएका अग्लो ठाउँको धानका खेतमा पानीको अभाव भएर धान सुक्न थालेपछि किसानहरू थप मारमा परेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत यूगल किशोर तिवारीले जानकारी दिए । पानीको अभावले धान खेतमा नै चिरा पर्न थालेको छ ।
अबको एक सातासम्म वर्षा नभए धानमा धेरै क्षति हुने सम्भावना रहेको वरिष्ठ कृषि विकास अधिकृत तिवारीले बताए ।