महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका–३ कालापानीमा मंगलबार ईभी (इलेक्ट्रिक भेइकल) ले मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीन जना घाइते भएका छन्।
भिमानबाट बर्दिबासतर्फ आउँदै गरेको बा.प्र.०१–००७ ख १७८६ नम्बरको ईभीले विपरीत दिशाबाट जाँदै गरेको प्र२–०२–००४ प ८५८५ नम्बरको मोटरसाइकल र बा.९२ प ५५३० नम्बरको स्कुटरलाई एकसाथ ठक्कर दिएको हो।



दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको मिथिला नगरपालिका–११ घर भई हाल बर्दिबास–१ गालटार बस्ने ४० वर्षीय सुजनबहादुर मगरको उपचारका क्रममा मंगलबार दिउँसो १:४२ बजे मृत्यु भएको छ।

दुर्घटनामा मोटरसाइकलमा सवार मगरकी ३५ वर्षीया श्रीमती फुलकुमारी थापा र तीन वर्षीया छोरी सिसाकुमारी थापा गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार फुलकुमारीको शरीरको भित्री भागमा र छोरी सिसाकुमारीको टाउकोमा चोट लागेको छ।
यस्तै, ठक्करबाट स्कुटर चालक सिन्धुलीको दुधौली नगरपालिका–३ ढुंगाटोलका २४ वर्षीय रमेश चौधरी मध्यम घाइते भएका छन्। घाइते तीनै जनाको बर्दिबासस्थित जनसेवा अस्पतालमा उपचार भइरहेको छ।
ठक्कर दिएपछि ईभी सडकबाट करिब १० फिट तल खसेको थियो। ईभीमा सवार यात्रुहरू भने सकुशल रहेका र उनीहरू आ-आफ्नो गन्तव्यतर्फ लागिसकेको प्रहरीले जनाएको छ।

दुर्घटनापछि ईभी चालक फरार रहेकाले उनको खोजी कार्य तीव्र पारिएको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ। ईभीका सहचालक सप्तरीको राजविराज नगरपालिका–७ निवासी २२ वर्षीय मिलन साह भने प्रहरी सम्पर्कमा आएका छन्।
घटनास्थलमा रहेका सवारीसाधन हटाउने प्रयास भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।




