जनकपुरधाम- मधेश प्रदेश सरकारको कृषि मन्त्रालयमा व्यापक भ्रष्टाचार भएको भन्दै मन्त्रालयको कार्यालयमा तालाबन्दी गरिएको छ।
जनमत पार्टीको नेतृत्वमा भइरहेको किसान आन्दोलन अन्तरगत बुधबार जनकपुरधाममा प्रदर्शन गर्दै जनमत पार्टीका कार्यकर्ताहरु कृषि मन्त्रीलाई जनकारवाही गर्न मन्त्रालय पुगेका थिए । तर, मन्त्रालयमा कृषि मन्त्री वा राज्य मन्त्री नभेटिएपछि उनीहरुले मन्त्रालयमा तालाबन्दी गरेर फर्केका छन् ।
प्रदेश कृषि मन्त्रालयको किसानका योजनाहरुमा व्यापक भ्रष्टाचार भएको, कृषिकहरुलाई दिइएको योजनामा मन्त्री र कर्मचारीलाई कमिसन नदिँदा भुक्तानी रोकेको भन्दै जनकारवाहीका लागि किसानहरु मन्त्रालयमा पुगेको जनमत पार्टीका धनुषा जिल्ला इन्चार्ज बीपी साहले बताए ।

मन्त्रालयमा भएको भ्रष्टाचारमाथि छानविन हुनु पर्ने, किसानको रकम भुक्तानी हुनु पर्ने, किसानको समस्या अध्ययनका लागि बनेको समितिको प्रतिवेदन सार्वजनिक हुनु पर्ने माग जनमत पार्टीको रहेको नेता साहले जनाए । उक्त विषयहरुमा सरकारले पहल नलिए थप आन्दोलनका कार्यक्रमहरु हुने उनले बताए ।
मन्त्रालयमा मन्त्री नभेटिएपछि मन्त्रालयमा तालाबन्दी गरेर फर्किएको किसान आन्दोलनको कार्यक्रम संयोजक विजय यादवले बताए । यादवले भने किसानको माग सम्बोधन नभए मन्त्रीहरुलाई जनकारवाही हुनेछ। त्यसका लागि मन्त्री ज्यूहरु तयार रहनु होला ।
यसैबीच किसान आन्दोलन अन्तरगत जनमत पार्टीले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ ।




