महोत्तरी । जनकपुरधाममा आज (सोमबार) दिउँसो बैङ्कबाट रकम झिकेर फर्किँदै गरेकी एक महिलाको २ लाख रुपैयाँ लुटिएको छ । जनकपुरधाम-१ निवासी शर्मिला यादव मिल्स एरियास्थित एभरेस्ट बैङ्कबाट २ लाख रुपैयाँ झिकेर घरतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुई जनाले रकम लिएर भागेका छन् ।
साउदीमा रहेका श्रीमान् देवशरणले पठाएको रकम बैङ्कबाट झिकेर घरतर्फ जान लाग्दा मोनास्टिक स्कुल नजिकै एउटा मोटरसाइकलमा आएका दुई जनाले रकम भएको झोला नै हातबाट लिएर भागेको शर्मिलाले बताएकी छन् । उनका अनुसार झोलामा रु. २ लाख, नागरिकता, बैङ्क सम्बन्धी कागजात र थप ५ सय रुपैयाँ थियो ।
‘आफू हिँडिरहेको समयमा एक्कासि आएका उनीहरुले हातबाट झोला लिएर गए,’ शर्मिलाले भनिन्, ‘दुवैले हेलमेट लगाएका थिए ।’ धनुषा प्रहरीका प्रवक्ता एवं डिएसपी प्रदीपबहादुर क्षेत्रीले रकम लुटेराहरुको खोजी भइरहेको बताए ।




