महोत्तरी- शुक्रवार बेलुका महोत्तरीको गौशाला नगरपालिका–२, सम्सी गौशाला सडक खण्ड स्थित रेडक्रस भवन नजिकै चक्कु प्रहार गरेर लुटपाट गरिएको घटना बनावटी रहेको प्रहरीले जनाएको छ ।
घटना भएको सूचना पाए लगतै प्रहरीले थालेको अनुसन्धानमा पीडित भनिएका व्यक्ति आँफैले बनावटी कथा बुनेको प्रहरी अनुसन्धानमा खुलेको ईलाका प्रहरी कार्यालय गौशालाका इन्चार्ज प्रहरी निरिक्षक रञ्जन मिश्रले बताए ।

आफ्नै भाईले खातामा पैसा जम्मा गर्न दिएको पाँच लाख रुपैयाँ फिर्ता गर्न नपरोस् भन्ने बदनियतले पीडित भनिएका व्यक्तिले चक्कु हानेर लुटपाट गरेको घटना रचेको प्रहरी निरिक्षक मिश्रले बताए ।
रामगोपालपुर नगरपालिका–७, सहसौला निवासी अरुण कुमार चौधरीले प्रहरी अनुसन्धानको क्रममा आफूलाई कसैले चक्कु नहानेको र पैसा समेत नलुटिएको बताएका छन् । उनले धेरै मानिससँग लिएको सापटी र ऋण रकम तिर्न आफूसंग पैसा अभाव भएपछि चक्कु प्रहारको कथा बुनेको स्विकार गरेको प्रहरी निरिक्षक मिश्रले बताए ।
अनुसन्धानको क्रममा प्रहरीले उनीसंग रहेको झोला समेत घटना स्थल नजिकैँबाट फेला पारेको छ । प्रहरी नियन्त्रणमा रहेका चौधरीले बायाँ तिघ्रामा आँफैले कोतरेर घाउ बनाएको बयान दिएको प्रहरीले जनाएको छ । चौधरीले मनि ट्रान्सफरका सञ्चालक समेत हुन् ।




