काठमाडौं- ‘हनी ट्र्याप’ अभियोगमा पक्राउ परेका श्रीमान् –श्रीमती धरौटीमा छुटेका छन्। जिल्ला अदालत काठमाडौंले जनही १ लाख ५० हजार धरौटीमा छाडेको हो।
न्यूरोडका एक जुत्ताचप्पल होलसेल व्यापारीलाई ३ पटकको भेटपछि ४५ लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका सिन्धुली कमलामाई नरपालिका–६ की ३१ वर्षीया कल्पना बस्नेत, उनका श्रीमान् ३१ वर्षीय कृष्णहरि खड्कालाई छाडिएको हो।
बस्नेत र खड्कासँगै उक्त घटनामा नक्कली प्रहरी निरीक्षक (इन्स्पेक्टर) बनेका सञ्जय कार्कीलाई पनि प्रहरीले साउन ४ गते पक्राउ गरेको थियो। अदालतले कार्कीलाई चाहिँ १ लाख मात्रै धरौटीमा छाडेको छ ।
उनीहरू साउन १ गते न्यूरोडका एकजना व्यापारीलाई ‘ब्ल्याक मेलिङ’ गरेर ४५ लाखको बार्गेनिङ गरेको आरोपमा पक्राउ परेका थिए। ती व्यापारीसँग चाबहिलस्थित एक खुद्रापसलमा भेट भएपछि कल्पनाले चिनजान गर्दै विभिन्न स्थानमा ३ पटकसम्म भेट गरेकी थिइन्।
भेटका क्रममा उनीहरूले चाबहिल, एयरपोर्ट, गहनापोखरी र ठमेलको होटलसम्म पुगेको जनाइएको छ। आफूलाई म्यानपावर व्यवसायी भएको र तनावमा रहेको भन्दै व्यापारीसँगै नजिकिएकी कल्पनाले विभिन्न ठाउँको भेटपछि ती व्यापारीलाई धम्की दिएकी थिइन्।
तेस्रो पटकको भेटपछि कल्पनाले आफ्ना श्रीमानलाई ‘भाइ’ भन्दै बलात्कारको आरोप लगाएर बार्गेनिङ गरेकी थिइन्। ४५ लाख मागेकी कल्पनाको खातामा ती व्यापारीले सुरुमा ५० हजार पठाएका थिए। पैसा नदिए परिवार नै सखाप बनाउने धम्की दिएपछि व्यापारी प्रहरीमा गएका थिए।
प्रहरीमा बलात्कारको उजुरी दिएको नाटक गर्दै सञ्जय कार्कीलाई प्रहरी निरीक्षक बनाएर फोन गर्न लगाएका थिए। एक पत्रकारले पनि आफू पनि कल्पनको हनी ट्रयाममा परेको भन्दै बौद्ध वृत्तमा उजुरी दिएका थिए।


