
काठमाण्डौं- निहारिका राजपुतको विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले चासो देखाएकी छन् । निहारिकाले शुक्रबार राष्ट्रपति कार्यालयबाहिर आत्मदाहको प्रयास गरेकी थिइन् ।
राष्ट्रपति भण्डारीले शनिबार कानुन, न्याय तथा संसदीय मामिलमन्त्री गोविन्द बन्दी र महान्यायाधिवक्ता खम्मबहादुर खातीसँग निहारिका राजपुतको विषयमा चासो राखेकी हुन् ।
निहारिकाले आफूमाथि जनकपुरका शिवराज श्रेष्ठले बलात्कार गरेर त्यसको तस्बिर र भिडियो पनि बनाएर ब्ल्याकमेल गरेको बताउँदै आएकी छन् ।
उनले आफ्नो बच्चाको डिएनए जाँच गरिनुपर्ने माग राख्दै अनशनसमेत बसेकी थिइन् । शुक्रबार आत्मदाहको प्रयास गर्दा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । हाल उनलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको छ ।
कानुनमन्त्री तथा न्यायापरिषद् सदस्य गोविन्द बन्दीले निहारिकाको मुद्दामा फैसला गर्ने न्यायाधीशमाथि कारबाही प्रक्रिया सुरु भइसकेको जानकारी दिएका छन् । मन्त्री बन्दीले भने, ‘श्रीमानले पनि श्रीमतीविरुद्ध जबरजस्ती सम्बन्ध राखेमा त्यो बलात्कार ठहरिन सक्ने विद्यमान कानुन रहेको अवस्थामा प्रेम सम्बन्ध रहेकै कारण बलात्कार होइन भन्न मिल्दैन । फैसला गर्ने न्यायाधीशको क्षमतामा प्रश्न उठेकाले न्यायापरिषद मार्फत कारबाहीको प्रक्रिया सुरु भइसकेको छ ।’
गत माघमा निहारिकाको मुद्दामा जिल्ला अदालत धनुषाले फैसला सुनाएको थियो । जिल्ला न्यायाधीश परशुराम भट्टराईले बलात्कारको अभियोगमा दाबी नपुग्ने भन्दै आरोपीलाई सफाइ दिएका थिए । उक्त फैसला विरुद्ध निहारिकाले जनकपुर उच्च अदालतमा पुनरावेदन गरेकी छन् । हाल आफ्नो बच्चाको डीएनए टेस्ट गर्नुपर्ने मागसहित आमरण अनशनमा पनि बसिरहेकी छन् ।