जनकपुरधाम- धनुषामा नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध प्रदर्शन गरिएको छ ।
राष्ट्रपतिद्वारा नागरिकता विधेयक फिर्ता गरिएपछि जनता समाजवादी पार्टी (जसपा) नेपाल पनि आक्रमक बन्दै जसपाले जनकपुरधाममा राष्ट्रपति भण्डारीको पुत्ला दहन गरेको छ ।
सोमवार जसपा, लोसपा, जनमत पार्टीका साथै नागरिकता विहीनहरु ठाँउ ठाँउमा प्रदर्शन गरेका छन् ।
यसै क्रममा जनकपुरधामको जनक चौकमा जनता समाजवादी पार्टीका नेता तथा कार्यकर्ताहरु राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला दहन गरेहो हो । उनीहरु राष्ट्रपति भण्डारी विरुद्ध नाराबाजी गर्दै पुतला दहन गरेका हुन ।
सो क्रममा एकजना सशस्त्र प्रहरीका एक जवानको शरीरमा आगो समेत लागेको छ । यद्यपी उनी सकुशल रहेको बताइएको छ।
जसपाका नेता तथा कार्यकर्ताहरु राष्ट्रपति भण्डारीको राजीनामा समेत माग गरेका छन् । नागरिकताबाट बञ्चित भई दुख भोगिरहेको लाखौं युवाको भविष्य र जीवनको बेवास्ता गर्दै राष्ट्रपतिबाट यस्तो कदम उठाइनु विरोध र खेदजनक रहेको जसपा नेताहरुको भनाई छ ।
विरोध प्रदर्शनमा जसपाका नेताहरु जनकपुरधामका पूर्व मेयर लालकिशोर साह, नेताहरु विष्णुदेव साह, जितेन्द्र यादव, नविन यादव लगायतका सहभागी भएका थिए ।
आइतवार राष्ट्रपतिले दुवै सदनबाट पारित भइसकेको नागरिकता सम्बन्धी विधेयक प्रमाणीकरण नगरि पुनः प्रतिनिधिसभामा फिर्ता पठाएपछि मधेशका चौतर्फी विरोध हुन थालेको हो।
त्यसैगरी जनमत पार्टीले पनि नागरिकता विधेयक फिर्ता गरेको भन्दै राष्ट्रपति भण्डारी विरुद्ध प्रदर्शन गरेको छ ।
राष्ट्रपति भण्डारीले चालेको कदम विरुद्ध सिरहामा जनमत पार्टीका स्थानीय नेता कार्यकर्ताहरुले प्रदर्शन गरेका हुन् ।
यता राष्ट्रपति भण्डारीले चालेको कदम विरुद्ध नेपाली कांग्रेसका स्थानीय नेता कार्यकर्ताहरुले धनुषाको ढल्केवरमा पूर्वपश्चिम लोकमार्ग अवरुद्ध गर्दै प्रदर्शन गरेका थिए ।
सोमबार बिहान नेपाली कांग्रेसको मिथिला नगरपालिकाका सभापति जोगी महतोको नेतृत्वमा नेता तथा कार्यकर्ताहरुले आधा घण्टा राजमार्गमा चक्काजाम गरेका थिए ।
केन्द्रको निर्देशन बमोजिम राजमार्ग बन्दको कार्यक्रम गरिएको कांग्रेसका क्षेत्रीय सचिव बुधेश्वर महतोले बताए ।
प्रदर्शको क्रममा नागरिकता पीडितहरुको सहभागीता रहेको थियो । उनीहरुले राष्ट्रपति विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए । बन्दकर्ताहरुले मोटरसाइकल समेत रोकेपछि केहीबेर तनाव उत्पन्न भएको थियो ।