लहान । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको जन्मस्थल सिरहाको बस्तीपुरका स्थानीयले उनको अन्तिम संस्कार गाउँमै गर्न आग्रह गरेका छन् ।
समाजवादी चिन्तनक गिरीको अन्तिम इच्छा गाउँकै आश्रममा होस् भन्ने रहेकाले उहाँको शव गाउँमै ल्याएर अन्तिम संस्कार गर्न बस्तीपुरवासीको आग्रह छ ।
“उनले हामीसँग भेट्दा जहिले पनि म मरेपछि मेरो अन्तिम संस्कार आश्रमै गर्नुहोला भन्ने”, बस्तीपुरका ८० वर्षीय फेकु महतोले भन्ने, “त्यसैले उनको शव गाउँमा ल्याउनुप¥यो, हामी उनलाई अन्तिम श्रद्धाञ्जली दिन आतुर छौँ ।” उनलाई हामी गाउँमै सम्मानका साथ अन्तिम संस्कार गर्न चाहेका छौँ उनको भनाइ छ ।

“प्रदीप बाबुभन्दा म कान्छो भए पनि बाल्यकालमा हामी सँगै खेल्थ्यौँ”, महतोले भन्ने, “उनको निधन भएको खबरले असाध्यै पीडा भइरहेको छ, उनलाई अन्तिम दर्शन गर्ने हाम्रो इच्छा छ ।” त्यो इच्छा पूरा गर्न उनले सबैसँग आग्रह गर्नुभयो ।
“प्रदीप दाई हाम्रो गाउँकै अभिभावक हुनुहुन्थ्यो”, बस्तीपुर गाउँका चलितर साहले भन्ने, “उनको यो समाजमा धेरै ठूलो योगदान छ, त्यो योगदानको सम्मान गर्ने हामीलाई मौका दिनुपर्छ ।” उनलाई हामी गाउँलेले ससम्मान अन्तिम संस्कार गर्छौ, साहको कथन छ ।
“हामीले उनको बुवा मित्रलाल गिरीको पनि गाउँमै अन्तिम संस्कार ग¥र्यांै”, उनले भन्ने, “हामी चाहन्छौँ, प्रदीप बाबुको पनि गाउँमै संस्कार गर्न चाहन्छौँ, हाम्रो त्यो चाहना पूरा हुनुपर्छ ।”
शान्त र शालिन स्वाभावका व्यक्तित्व नेता गिरीले पुर्खौली गाउँ बस्तीपुर नजिकै खुट्टी खोलाको पश्चिम किनारमा आश्रम बनाएर बस्दै आउनुभएको थियो । सो आश्रममा रेखदेख गर्दै आउनुभएका स्थानीय रामकृष्ण चौधरीले भन्नुभयो, “प्रदीप दाइले कुराकानीका क्रममा मेरो अन्तिम संस्कार आश्रम मै होस् भन्ने इच्छा रहेको भन्नुभएको थियो, “त्यसैले पनि उहाँको यही नै अन्तिम संस्कार हुनुपर्छ भन्ने हाम्रो कुरा भनाइ हो ।” “उनको अन्तिम संस्कार गर्न हामी आतुर छौँ”, उनले भन्ने, उनको शव गाउँमा ल्याइदिने वातावरण बनाइदिन उनले सबैसँग आग्रह गर्नुभयो ।
नेता गिरीको निधनमा शोकाकुल भएका गाउँहरु उनको राजधानीमै अन्तिम संस्कार हुने खबर पाएपछि थप पीडामा पर्नुभएको छ । “जन्मथलोमै उहाँको अन्तिम संस्कार गर्दा हामीलाई पनि न्याय हुन्थ्यो”, आश्रममै बस्दै आउनुभएका जितनीदेवी रामले भन्ने, “उहाँ हाम्रो अभिभावक हुनुहुन्थ्यो, त्यसैले उनको अन्तिम दर्शन हामीले गर्न पाउनुपर्छ । हामीलाई त्यो अधिकारबाट बञ्चित गराउनु हुँदैन”, उनले भन्ने ।
समाजवादी चिन्तनका नेता गिरीको निधनले उनको गाउँ बस्तीपुर शोकमा डुबेको छ । वि.सं. २००४ मा जन्मिनुभएका गिरी वि.सं. २०१८ मा बस्तीपुर माविबाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गर्नुभएको थियो । उहाँ गत २०७४ सालको निर्वाचनमा सिरहा क्षेत्र नं. १ बाट निर्वाचित हुनुभएको थियो ।
नेता गिरीको शोकमा सिरहाको लहान नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ । आफूहरुले मत दिए जिताएका अभिभावक गिरीको उपचार काठामाडौँस्थित मेडिसिटी अस्पतालमा भइरहँदा शीघ्र स्वास्थ्यलाभको कामना गर्दै स्थानीयले हिजो बिहानैदेखि गाउँमा भजनकीर्तनसमेत गरेका थिए । रासस




