उदयपुर। उदयपुर जिल्ला स्थित सार्वजनिक एवं सरकारी निकायका सूचना अधिकारी र कार्यालय प्रमुखहरुले सार्वजनिक निकायको कामकारवाहीहरुको विषयमा सूचना मागकर्तालाई सूचना दिन सहज वातावरण निर्माण गर्ने प्रतिबद्धता जनाएकाछन् ।
१६ औं राष्ट्रिय सूचना दिवस, भदौं ३, २०७९ को अवसरमा साताव्यापी कार्यक्रम अन्तर्गत सोमबार जिल्ला प्रशासन कार्यालयको आयोजना, सूचनाको हकका लागि राष्ट्यि महासंघ र सूचनाको हकका लागि जिल्ला संजालको सहकार्यमा आयोजित “सूचनाको हक, सार्वजनिक निकाय र सूचना अधिकारीको उत्तरदायित्व” विषयक अन्त्तरकृया कार्यक्रमका सहभागी सूचना अधिकारी र कार्यालय प्रमुखहरुले सो प्रतिबद्धता जनाएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले जिल्ला स्थित सवै सार्वजनिक निकायहरुलाई सुशासन प्रबद्र्धनका लागि संविधान प्रदत्त हक सूचनाको हकको प्रबद्र्धनमा लाग्न निर्देशन समेत दिनुभयो । उहाँले सूचना खान त नमिल्ने तर सूचना नपाएको खण्डमा मानिस भोकै मर्न सक्ने कुरालाई उद्दृत गर्दै सूचना आम नागरिकका लागि ज्यादै महत्वपूर्ण भएको बताउनुभयो ।
जिल्ला स्थित सार्वजनिक एवं सरकारी निकायहरुले अनिवार्य सूचना अधिकारीको व्यवस्थापन गर्नुपर्ने र सर्वसाधारण नागरिकले सूचना माग गर्न आएको खण्डमा यथासक्दो छिटो सूचना उपलब्ध गराउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।सूचनाको हकका लागि राष्ट्यि महासंघका केन्द्रिय महासचिव अजयकुमार साहले अन्त्तरकृया कार्यक्रमलाई सहजीकरण गर्दै सूचनाको हक सम्बन्धी ऐन २०६४ र नियमावली २०६५ मा भएका व्यवस्थाहरुको बारेमा सहजीकरण गर्नुभएको थियो भने ग्रामिण भेगका नागरिक सम्म सूचना पुर्याउनका लागि सरकारी निकायका सूचना अधिकारी, कार्यालय प्रमुख र स्थानिय तहका जनप्रतिनिधिहरुले खेल्नुपर्ने भुमिका बारे प्रष्ट्याउनुभएको थियो ।

कार्यक्रमलाई सहजीकरण गर्दै महासचिव साहले सूचना माग प्रकृया र सम्प्रेशन प्रकृयालाई सहज बनाउन सूचना अधिकारी र कार्यालय प्रमुखले खेल्नुपर्ने भुमिका बारे प्रस्तुतीकरण गर्नुभयो । कार्यक्रमको अन्त्तरकृयात्मक सेसनमा सूचना अधिकारी र कार्यालय प्रमुखहरुले सूचनाको हकको व्यवहारिक पक्ष बारे जिज्ञासा राखेका थिए भने महासचिव साहले जिज्ञासा उपर सहजीकरण गर्नुभएको थियो ।
अन्त्तरकृयात्मक प्रस्तुतीमा सूचनाको वर्गिकरण, व्यवस्थापन र संम्प्रेशनका साथै तिन तिन महिनामा स्वतस्फूर्त रुपमा सूचना उपलब्ध गर्नुपर्ने प्रावधान, सूचना शुल्क कि निशु्ल्क, जरिवाना, सूचना माग निवेदनको ढाँचा, उजुरी र पुनरावेदनका ढाँचाहरु तयार गर्ने विधिहरु बारे जानकारी गराईएको थियो । स्ूचना उपलब्ध नगराएको खण्डमा सूचना अधिकारी र कार्यालय प्रमुखलाई ऐन बमोजिम हुनसक्ने कानुनी कारवाही लगायतका प्रावधान बारे समेत जानकारी गराईएकोछ ।

कार्यक्रममा उदयपुरका आठ वटै स्थानिय तहका सूचना अधिकारी, जिल्ला स्थित दुई दर्जन बढि विषयगत कार्यालयका सूचना अधिकारी र कार्यालय प्रमुख, सुरक्षा निकायका प्रमुख एवं प्रतिनिधिहरु, जिल्ला उद्योग वाणिज्य सघ, नेपाल पत्रकार महासंघ, गैसस महासंघ लगायतका निकायका प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । सूचनाको हकका लागि जिल्ला संजालका उपाध्यक्ष युवराज पराजुलीले आगामी दिनमा जिल्लाका आठ वटै स्थानिय तहमा यस्तै अन्तरकृया कार्यक्रमको आयोजना गरि जनप्रतिनिधिहरुलाई सूचनाको हकको बारेमा जानकारी गराउने कार्यक्रम तय गरिएको जानकारी गराउनुभयो ।





