काठमाडौं – कार्यकाल सकिनै लागेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिने चर्चा चुलिएको छ । नागरिकता विधेयक प्रमाणीकरण गर्न अटेर गर्दै उनले राजीनामा दिने तयारी गरेको हल्ला चलाइएको छ ।
आफ्नो सुरक्षामा खटिएका पूर्व तथा वर्तमान सुरक्षा अधिकारीलाई बुधबार बेलुका शितलनिवासमा बोलाएर राष्ट्रपतिले भेटेकी छन् । यसलाई कतिपयले विदाइ भेटका रुपमा व्याख्या गरेका छन् ।



शीतलनिवासमा नेपाली सेनासहित सुरक्षा निकायका अधिकारीहरुलाई बोलाएर उनले धन्यवाद दिएकी हुन् । भेटमा शीतलनिवासका वर्तमान सुरक्षा प्रमुख नेपाली सेनाका सहायक रथी पवन घिमिरेसहितका सैन्य अधिकारी पनि सहभागी थिए ।
राष्ट्रपति भण्डारी संसदबाट नागरिकता विधेयक जस्ताको तस्तै फर्काइएपछि असन्तुष्ट रहेको खवर आएका छन् । प्रतिनिधिसभाबाट नागरिकता विधेयक हुबहु पारित भइसकेको छ । अब राष्ट्रिय सभाबाट पारित भएपछि प्रमाणीकरणका लागि राष्ट्रपतिमा जानेछ ।
कार्यकाल सकिनै लागेका बेला राजीनामा दिएर सहानुभूति बटुल्ने दाउमा राष्ट्रपति रहेको कतिपयले आरोप लगाएका छन् । उनको कार्यकाल आगामी निर्वाचनपछि सकिनेछ । नयाँ संसदले अर्को राष्ट्रपति चयन गर्नेछ ।
राष्ट्रपतिले राजीनामा दिए उपराष्ट्रपतिले कार्यभार राष्ट्रपतिको जिम्मेवारी सम्हाल्नेछन् ।




