
जनकपुरधाम- जनकपुरधाम स्थित पिडाडी चोकको सरकारी जग्गा निजी व्यक्तिको नाममा गरेको आरोपमा तत्कालिन गुठी प्रमुख सहित ३१ जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी जग्गा निजी व्यक्तिको नाममा गरेको आरोपमा तत्कालीन गुठीका प्रमुख मधुप्रसाद बास्ताकोटी, मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा यमुना प्रसाद पंजियार, मालपोत कार्यालय धनुषाका तत्कालीन खरिदार जगदेव कामती, काठमाडौंको कमलादी बस्ने कुमार खड्का विक्रम शाह सहित ३१ जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
गुठीका तत्कालीन प्रमुख बास्ताकोटीले सरकारी सार्वजनिक जग्गाहरू गुठी लगत कायम गरी कुमार खड्ग विक्रम शाहको नाममा दर्ता कायम हुनेगरी जग्गाधनी प्रमाण पूर्जा बनाइ दिन मालपोत कार्यालय धनुषालाई पत्राचार गरेको पुष्टि भएको अख्तियारले जनाएको छ।
बास्ताकोटीले पदीय मर्यादाको दुरूपयोग गरी सरकारी स्वामित्वमा रहेको साविक पिडारी गाविस-५ का जग्गा गैरकानुनी रूपमा अनाधिकृत व्यक्तिका नामा दर्ता गर्ने गराउने कार्यमा संलग्न भएको अख्तियारको ठहर छ।
बास्ताकोटी उपर २९ करोड ८८ लाख ८१ हजार ४३७ रूपैयाँ बिगो कायमगरी भ्रष्टाचार मुद्दा दायर भएको अख्तियारले जनाएको छ।
त्यस्तै मालपोत कार्यालयका तत्कालीन नायब सुब्बा पंजियार र तत्कालीन खरिदार कामतीको हकमा पनि सोही बराबरको बिगो मागदाबी गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।
सरकारी कर्मचारीलाई प्रभाव एवं प्रलोभनमा पारी गैरकानुनी रूपमा ८ बिघा १० कठ्ठा १२ धुर जग्गा आफ्नो नाममा दर्ता गराइ सरकारलाई हानी पुर्याउने काम गरेको भन्दै अख्तियारले शाह विरूद्ध पनि भ्रष्टाचार मुद्दा दर्ता गरेको छ।
शाहको मृत्यु भइसकेकोले कैद र जरिवाना हुन नसक्ने भए पनि सरकारी वा निजी बिगो, क्षतिपूर्ति वा रकम भराउन सकिने कानुनी व्यवस्था अनुसार २९ करोड ८८ लाख ८१ हजार ४३७ रूपैयाँको मागदाबी अख्तियारले गरेको छ।
मागदाबी गरेअनुसारको रकम शाहको नाममा रहेको कुनै सम्पत्ति वा निजको नामबाट हकवालाको नाममा सम्पत्ति गएको भए त्यहाँबाट असुल उपर हुन मागदाबी गरिएको प्रवक्ता भण्डारीले बताए।
त्यस्तै शाहको नामबाट ती जग्गाहरूमा जग्गाधीन कायम भएको देखिएकोले जफत हुन समेतको मागदाबी अख्तियारले लिएको छ।
२३ असारमा अख्तियारले सरकारी जग्गा निजी व्यक्तिले भोगचलन गरिरहेकोबारे साधपुछ गर्न ३० जनाको नाममा पत्र काटेको थियो।
काठमाडौंका दिवश विक्रम शाहको नाममा भोगचलन भइरहेको त्यो जग्गाबारे सोधपुछ गर्न अख्तियारले सार्वजनिक सूचना प्रकाशित गरेर पत्र काटेको थियो।
काठमाडौ महानगरपालिका-३ का शाहले जनकपुरको सार्वजनिक जग्गा भोगचलन गरेको विषयमा उजुरी परेपछि अख्तियारले अनुसन्धानका क्रममा अन्य व्यक्तिहरूको पनि संलग्नता देखिएपछि सोधपुछ गर्न पत्र काटेको थियो ।
‘जनकपुर पिडाडी चोकस्थित ८ बिगाहा भन्दा बढी सरकारी, सार्वजनिक जग्गा दिवस विक्रम शाहले आफ्नो नाममा भोगचलन गरेको भन्ने व्यहोराको उजुरीको अनुसन्धानको सिलसिलामा तपाईंसँग केही बुझ्नुपर्ने भएकोले यो म्याद सूचना प्रकाशित गरिएको छ। यो म्याद सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र यस आयोगको अनुसन्धान महाशाखामा सम्पर्क राख्न आउनुहोला, नआए कानुनबमोजिम भइजानेछ,’ अख्तियारले प्रकाशित गरेको सूचनामा भनिएको थियो ।
अख्तियारले शाहपछि तत्कालीन मालपोत प्रमुख शशीनारायण लाल दास, नापी टोली प्रमुख चौमानसिंह थापा र नापी निरीक्षक सिताराम साहलाई सोधपुछका लागि बोलाएको थियो ।
त्यस्तै विभाकुमारी यादव, राजकिशोर महासेठ, विमला देवी, विजयकुमार मण्डल, चन्द्रकलाकुमारी देवी, त्रिफुलाकुमारी देवी, लिलादेवी यादव, नृपेन्द्र सिंह, रामविपिन साह, सज्ञान देवी, पुष्पा सिंह, लक्ष्मी नारायण मिश्रा, नितुकुमारी झा, शर्मिला कुमारी, रेणुकुमारी राय, नवलकिशोर यादव, जयकुमार गोइत र रिता देवीलाई अख्तियारले सोधपुछका लागि बोलाएको थियो ।