महोत्तरी - महोत्तरीमा चर्को ब्याज लिएर दुःख दिएको विरुद्धमा १ सय ९१ जनाले जिल्ला प्रशासन कार्यालय महोत्तरीमा उजुरी दिएका छन् । साथै यो उजुरीको क्रम बढ्ने अनुमान रहेको छ ।
सरकारले गृह मन्त्रालयका सहसचिव डा भीष्मकुमार भुसाललाई संयोजक बनाएर चर्को ब्याज लिनेविरुद्ध अभियान नै सञ्चालन गरेपछि महोत्तरीमा पनि चर्को ब्याजबाट पीडित हुनेले जिल्ला प्रशासन कार्यालयमा लिखित उजुरी दिएको सो कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।
मिटरब्याजीबाट दुःख पाएकाहरूका बारेमा अध्ययन गर्न सरकारले कार्यदल नै बनाएर देशभरिका ७७ जिल्ला प्रशासन कार्यालयमा पीडितलाई निर्धक्क भएर उजुरी दिन आग्रह गरेपछि महोत्तरीमा पनि हालसम्म १ सय ९१ जनाले उजुरी दिएको बताइएको छ ।
मिटरब्याजीको समेत आम्दानीको आर्थिक स्रोत, जायजेथा तथा सम्पत्तिको स्पष्टता र अनुसन्धान गरी ठूला कारोबारको सम्बन्धमा विशेष छानविन गर्न गृह मन्त्रालयबाट भनिएको छ ।




