
काठमाडौं- त्रिकोणात्मक टी २० क्रिकेट सिरिजमा नेपालले यूएईलाई पाँच विकेटले पराजित गरेको छ। सिरिजमा यो नेपालको लगातार चौथो जित हो ।
मूलपानी क्रिकेट मैदानमा १६५ रनको लक्ष्य नेपालले १९.२ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो।
पहिलो ३ ओभरमा ३ विकेट गुमाएपश्चात धरमराएको ब्याटिङलाई ओपनर आसिफ शेख र कप्तान रोहित कुमार पौडेलले सम्हाले। आसिफले ६२ र रोहितले ४७ रन बनाए।
चौथो विकेटको लागि आसिफ र रोहितले ८० बलमा ९९ रनको साझेदारी गरेका थिए । त्यसपछि आएका दीपेन्द्र सिंह ऐरीले विष्फोटक ब्याटिङ गरे । उनले १५ बलमा ४० रन बनाए। ६ चौका र १ छक्का प्रहार गरेका उनी अविजित रहे।
यूएईका मुहम्मद जवदुल्लाहले २ तथा जहूर खान र अकिफ राजाले १-१ विकेट लिए।
पहिले ब्याटिङ गरेको यूएईले पुरै ओभर खेलेर ७ विकेट क्षतिमा १६४ रन बनाएको थियो । यूएईका लागि बसिल हमिदले १९ बलमा ४५ रन बनाए। वृत्य अरविन्दले पनि ४५ रन बनाए।
नेपालका लागि सोमपाल कामी र अबिनाश बोहराले २–२ तथा गुल्सन झा र करण केसीले १–१ विकेट लिए।
नेपाल सिरिजको फाइनलमा पुगिसकेको छ । यो सँगै नेपालको ८ अंक भएको छ । यूएई २ अंकसहित दोस्रो छ । हङकङले अंक जोड्न सकेको छैन ।