काठमाडौं- खराब ब्याटिङका कारण केन्यासँगको दोस्रो टी–ट्वान्टी खेलमा नेपाल १८ रनले पराजित भएको छ। केन्याले दिएको १३३ रनको लक्ष्य पच्छाएको नेपाल अन्तिम एक ओभर खेल्नु अगाडी ११४ रनमा अलआउट भयाे।
नेपालका लागि आरिफ शेखले सर्वाधिक २५ रन जोडेका थिए। त्यसैगरी रोहित पौडेल र आदिल अन्सारीले समान २० रन जोड्दा पवन सर्राफले १९ रनको योगदान दिए। ओपनर आसिफ शेख पाँच, ज्ञानेन्द्र मल्ल एक र दिपेन्द्र सिंह ऐरी भने तीन रनमा आउट भए।
यसअघि नेपालको कसिलो बलिङ सामू केन्या २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रनमा समेटिएको थियो। नैरोबीस्थित जिमखान क्लब ग्राउन्डमा जारी खेलमा केन्यालाई सस्तैमा समेट्न नेपालका लागि बलिङमा कप्तान सन्दीप लामिछान र दिपेन्द्र सिंह ऐरीले तीन–तीन विकेट लिए।
दिपेन्द्रले तीन ओभरमा मात्र १६ रन दिएर तीन विकेट झारेका थिए। सन्दीपले भने चार ओभरमा २६ रन खर्चेका थिए। त्यसैगरी करण केसीले दुई तथा पवन सर्राफले एक विकेट लिए।
खेलको सुरुआत मै करण केसीले दुबै ओपनरलाई सस्तैमा पेभोलिएनको बाटो देखाउँदा केन्याले मात्र १६ रनमा दुई विकेट गुमाइसकेको थियो।
यसपछि रकिब पटेलले सर्वाधिक ३५ र इरफान करिमले २२ रन जोड्दै केन्याका इनिङलाई जोगाएका थिए। त्यसैगरी केन्याका लागि नेहेमिहा ओडिम्बोले २० बलमा तीन चौका र दुई छक्को मद्धतले ३१ रन जोडेका थिए।
यो हारपछि पाँच पाँच म्याचको सिरिज एक–एकको बराबरीमा पुगेको छ। पहिलो खेलमा बिहिबार केन्यालाई पाँच विकेटले हराउँदै नेपालले सिरिजमा विजयी सुरुआत गरेको थियो।




