महोत्तरी,(औरही) : महोत्तरीको औरही नगरपालिका-२ स्थित श्री प्रसाद सिंह मावि विद्यालयमा एक शिक्षकले एक ९ वर्षीया बालिकालाई निर्घात कुटपिट गरि यातना दिंदा विरामी भएकी छिन् ।
साउन ९ गते बिज्ञान विषयका शिक्षक सोनमा गाउपालिका वडा नं ८ सिंहासनी बस्ने शिक्षक दिपेस यादवले कक्षा ६ मा अध्ययनरत औरही नगरपालिका-२, औरहीका ९ वर्षीया बालिका आरती कुमारी महरालाई निर्घात कुटपिट गरि यातना दिएको हो ।



कुटपिटबाट बालिकाको जीउभरि निलडाम देखिएको छ भने अहिले बालिका बिरामी भएकी छिन्। पीडित बालिकाको आमा सुन्दर कला देवीको अनुसार छोरीले गृहकार्य नगरेको भन्दै शिक्षक यादवले बाँसको कर्ची (लाट्ठी)ले निर्मता पुर्वक पिट्दा छोरी विरामी भएकी हुन् ।
जीउभरि निलडाम देखिएको विरामी बालिकाको उपचार स्थानीय औरही बजार स्थित राधाकृष्ण किलिनिकमा भई रहेको छ। पीडित बालिकाको अभिभावकले आफ्नो छोरीलाई यसरी यातना दिने शिक्षक माथि कारबाहीको माग गरेका छन् ।
यता बिद्यालयका प्रधानाध्यापक शिवशरण यादवले बालिकाको अभिभावक बुवा साजेंद्र महरा र आमा सुन्दर कला देवीलाई बिद्यालयमा मै बोलाएर बालिकाको उपचारको लागि खर्च दिएर घटनालाई बाहिर नल्याउन भनि प्रलोभन दिन खोजेको बालिकाको अभिभावकले बताउनुभयो ।
बालिकाकी आमा सुन्दरकलाले भन्नुभयो, ‘हामीलाई पैसा हैन, शिक्षकमाथि कारबाही हुनुपर्छ, आज मेरो छोरीलाई यातना दिएको छ भोलि अरुलाई पनि यस्तो गर्न सक्छ ।’ पीडित बालिका आरती अहिले विद्यालय जान समेत तर्सिएकी छिन् । उनले भनिन्, ‘अब त्यो विद्यालयमा पढ्दीन फेरि पनि सरले कुट्नु हुन्छ ।
म अर्कै स्कूलमा पढ्छु।’ अभिभावकले यसरी बच्चाबच्चीलाई निर्घात तरिकाले कुटपिट गर्ने शिक्षकलाई कारबाहीको लागि पहल गरिदिनलाई अधिकारकर्मी , संचारकर्मीहरुलाई आग्रह गरेका छन् ।




