
काठमाडौं- जब हरितालिका तीज नजिकिँदै जान्छ तब नेपालको संगीतिक बजारमा तीज गीत सार्वजनिक गर्ने होडबाजी नै चल्छ। तीजमा वर्षेनि सयौँ गीत सार्वजनिक हुन्छ, तर चल्ने गीत भनेको कमै हुन्छन्। यसवर्ष पनि तीजका २ सय बढी तीज गीत सार्वजनिक भए। तर, यो तीजको लागि आएको गीतमध्ये सबैभन्दा चलेको गीत हो ‘झमझम झम्काना’।
चर्चित लोक तथा दोहोरी गायक भागिरथ चलाउने र गायिका सुनीता बुढा क्षेत्रीको स्वरको गीत युट्युबमा एक करोड ६१ लख बढी छ। गीत सार्वजनिक भएको महिनदिनमै यसको भ्युज एक करोड नाघेको थियो।
अघिल्लो साल (२०७८)मा विष्णु माझीको ‘चरी जेलैमा’ चर्चामा रह्यो। जुन गीतको युट्युब भ्युज ४ करोड ११ लाख हाराहारीमा छ। यो साल आएको ‘चरी जेलैमा २’ गीत पनि चलिरहेको छ। जसको युट्युब भ्युज ७२ लाख बढी छ।
२०७७ सालमा ‘सोचेझैँ जिन्दगी रैनछ…’ गीतले तहल्का मच्चाएको थियो। कोरोना भाइरसका कारण घरमै बसेर तीज बनाउनुपर्ने अवस्था थियो।
वर्षेनि सयौँ तीज गीत सार्वजनिक हुने भए पनि एकाध गीत मात्रै मानिसहरूले सम्झने खालको अर्थात् चलेका हुन्छन्।
अधिकांश गीत कति आए कति गए पत्तो हुँदैन। तर, एउटा तीज गीत भने दशकौँदेखि सर्वाधिक गुञ्जिँदै आएको छ, जुन गीतमा कम्मर नभाँचेसम्म महिलाहरूलाई धितै मर्दैन। जुन गीत हरेक तीजहरूमा गुन्जने गर्छ। जुन गीतलाई उछिन्ने आजसम्म कुनै तीज गीत नै बनेका छैनन्।
‘गाऔँ स्वर खोलेर दिदी र बहिनी
नाचौँला मिलेर दामली सैनी
तीजको रहर आयो बरी लै
तीजको रहर आयो बरी लै’
गीतमा प्रयोग शब्दहरू ‘दामली’को अर्थ उमेर मिल्ने कोही’ र गण्डक क्षेत्रमा मितिनीलाई सैनी भनिन्छ।’ ‘तीजको रहर’को अर्थ भने माइती जाने, आमा भेट्ने, घरको गुनासो गर्ने, दर खाने आदि रहेको रूपमा अथ्याईएको छ।
सन् १९९१ मा निर्माण भएको प्रकाश थापा निर्देशित फिल्म ‘कन्यादान’ मा समावेश ‘तीजको रहर आयो बरिलै’ सदाबहार तीज गीत हो। यो गीतलाई उछिन्ने आजसम्म कुनै तीज गीत नै बनेका छैनन्।
अधिकांश झुक्किँदै गाउँछन् – ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’
गीत सुरु हुन्छ ‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’बाट। तर, धेरैले ‘गाउँ सहर खोलेर’ देखि ‘गाउँ सहर छोडेर’समेत गाउँदै आएका छन्। सोही शब्द धेरैको मुखमा झुन्डिएको छ।
‘गाऔँ स्वर खोलेर दिदी र बहिनी’ पछिका शब्दमा पनि कन्फ्युजन धेरै छ। धेरैले ‘नाचौँ न मिलेर नाम लिई सैनी’ भन्ने गर्छन्। हुनुपर्ने भने ‘नाचौँला मिलेर दामली सैनी’ हो।
जब यो गीत बज्न थाल्छन्, तब मानिसहरूलाई तीज लागको भान हुन्छ। तीजको रौनक छाएको महसुस हुने गर्छ। तीजको महत्त्व बोकेको यो गीतलाई महिलाहरूको दुःख बिर्साउने गीत समेत भन्ने गरिन्छ।
चेतन कार्कीको शब्द, दिपा झा\ पूर्णिमा श्रेष्ठको स्वर र मनोहरी सिंहको संगीत रहेको छ। यो गीतको ओर्जिनल भिडियो युट्युबमा समेत छैन। अडिओ मात्रै सुन्न पाइन्छ।
गौरी मल्ल, वसुन्धरा भुसाल र सुभद्रा अधिकारीको अभिनय रहेको गीतमा श्रीमानको दीर्घायुको कामना गर्दै वर्षौपछि भेट भएका दिदी–बहिनीहरूलाई सबै दुःख–पीडा भुलेर खुसीसाथ नाच्न भनिएको छ। गीतको भिडियोका कोरियोग्राफर वसन्त श्रेष्ठ हुन्।
अहिले युट्युबमा गीतको रिमेक भर्सन मात्रै भिडिओमा हेर्न पाइन्छ। जसमा करिष्मा मानन्धर, वसुन्धरा भुसाललगायतको अभिनय छ।
सन् १९९१ म यो कन्यादान फिल्ममा यो गीत राख्नुअघि पनि धेरै फिल्ममा तीजका गीत थिए। त्यसपछि, पनि थुप्रै फिल्ममा तीज गीत प्रयोग भए। तर, ‘तीजको रहर आयो बरिलै’ जत्तिको कालजयी बन्न सकेनन्। न त भोलिका दिनमा नै यो सम्भावना देखिन्छ। यो फिल्मका निर्देशक प्रकाश थापा, अभिनेत्री सुभद्रा अधिकारी र गीतकार चेतन कार्कीको निधन भइसकेको छ।