काठमाडौँ- नेपाल नगरपालिका संघको ३३औँ वार्षिक उत्सवको अवसरमा मटिहानी नगरपालिकालाई सामाजिक विकास क्षेत्रमा उत्कृष्ट कार्य गरेको भन्दै ‘सामाजिक विकासतर्फ उत्कृष्ट नगरपालिका’ सम्मान प्रदान गरिएको छ।काठमाडौँमा आयोजित संघको वार्षिक उत्सव विशेष समारोहमा प्रतिनिधिसभाका सभामुख डोल प्रसाद अर्याल ले मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल लाई उक्त सम्मान प्रदान गर्नुभयो।

कार्यक्रममा संघका कार्यकारी निर्देशक कलानिधि देवकोटा ले मटिहानी नगरपालिकाले शिक्षा, स्वास्थ्य, महिला सशक्तीकरण, बालअधिकार संरक्षण तथा सामाजिक समावेशीकरणका क्षेत्रमा प्रभावकारी कार्य गरेकाले उक्त सम्मान प्रदान गरिएको जानकारी दिनुभयो। उहाँले स्थानीय तहले समुदायमै केन्द्रित सेवा तथा कार्यक्रममार्फत उल्लेखनीय उपलब्धि हासिल गरेको उल्लेख गर्नुभयो।




नेपाल नगरपालिका संघले देशभरका महानगरपालिका, उपमहानगरपालिका र नगरपालिका गरी २९३ स्थानीय तहहरूमध्ये विभिन्न पाँच विधामा उत्कृष्ट कार्य गर्ने सात वटा पालिकालाई यस वर्ष पुरस्कृत गरेको हो।

सोअनुसार सामाजिक विकासतर्फ मटिहानी नगरपालिका, सहरी योजना तथा पूर्वाधार विकासतर्फ पोखरा महानगरपालिका र बुढानिलकण्ठ नगरपालिका, वातावरण, संस्कृति तथा पर्यटनतर्फ गोदावरी नगरपालिका र इलाम नगरपालिका पुरस्कृत भएका छन्। यस्तै स्थानीय आर्थिक विकासतर्फ मन्थली नगरपालिका (रामेछाप) तथा संस्थागत विकास, सेवा प्रवाह एवं वित्तीय सुशासनतर्फ हलेसी तुवाचुङ नगरपालिकालाई उत्कृष्ट घोषणा गर्दै पुरस्कार प्रदान गरिएको छ।






