सर्लाही । भनिन्छ, प्रेममा जातपात,उँच, नीच,धर्म,वर्ण उमेर, रङ्ग,केही हुँदैन । प्रेमीहरुले एक अर्कालाई पाउन जे पनि गर्न तयार हुन्छन् । कतिपय प्रेमी सामाजिक कुरीतिहरुका कारण छुटेका पनि छन्, तर सर्लाहीका एक अन्तरजातिय जंगीलाल यादव र राधा कुमारी चमारको जोडीले यस्ता भनाइलाई सार्थक बनाएर समाजको लागि एउटा उदाहरणीय काम गरेका छन् ।
उनीहरुको प्रेम र अन्तरजातिय जोडीलाई समाज र परिवारले नस्वीकारे पछि यी जोडीले मलंगवा नगरपालिका स्थित जिल्ला अदालत सर्लाहीमा गएर कानूनी रुपमा अन्तरजातिय विवाह गरेका छन् ।
सर्लाही जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न–१ बस्ने २२ वर्षीय जंगीलाल यादब र यसै जिल्लाको ब्रह्मपुरी गाउँपालिका वडा न–१ बस्ने २३ वर्षीया राधा कुमारी चमारले २०७९ साल भाद्र १३ गते अदालतमा गएर आफ्नो विवाह दर्ता गराएका हुन्।
उनीहरुबीच प्रेम सम्बन्ध विगत एक वर्षदेखि चल्दै आएको थियो। प्रेम सम्बन्धलाई विवाहको बन्धनमा बाँध्ने सोच बनाएका यी जोडीलाई केटा पक्षको परिवारले स्वीकार्न नमानेपछि दुबैजनाले मलंगवा स्थित नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीको कार्यालयमा दिएको निवेदनको आधारमा संस्थाको पहलमा कानून बमोजिम अदालतमा विवाह गराएको अध्यक्ष राजेश पासवानले जानकारी दिए।
जंगीलाल र राधाको जोडीले समाजमा बिद्ममान रहेको जातिय विभेद र छुवाछुतलाई अन्त्य गर्न उदाहरणीय काम गरेको मानव अधिकारकर्मी सुन्दर श्याम यादवले बताए ।




