
धनुषा - नेपाली काँग्रेसका नेता शेखर कोइरालाले काँग्रेसले पाँच दलको बीचमा गठबन्धन गर्दा एक सय सिटभन्दा कममा गठबन्धन गर्न नहुने बताएका छन् ।
काँग्रेसका नेता कोइरालाले आज जनकपुर विमान स्थलमा पत्रकारहरूसँग कुरा गर्दै काँग्रेसमा वडा तहदेखि निर्वाचित भएका नेताहरूको संख्या ठूलो भएकाले पार्टीको नेता व्यवस्थापनका लागि प्रतिनिधिसभामा एक सय सिटभन्दा कममा पाँच दलका बीचमा गठबन्धन गरेको खण्डमा पार्टीभित्र विद्रोह हुने अवस्था सृजना हुने बताए।
उनले नेपाली काँग्रेसको केन्द्रीय समितिले पाँच दलको बीचमा गठबन्धन गर्ने निणर्य गरिसकेकाले गठबन्धन हुनेमा आशङ्का नभए पनि काँग्रेस देशकै सबैभन्दा ठूलो लोकतान्त्रिक शक्ति भएकाले दलका नेताहरूले कम सिटमा सहमति गर्न नहुने बताए।
गठबन्धनको अर्थ गठबन्धन आवद्ध अर्को दलहरुको संगठन पनि बनाइदिने, पार्टी बचाइदिने नेता जोगाइ दिने नरहेको बताउदै उनले एक सय सिट भन्दा कममा कांग्रेस खुसी भए समानुपातिक मत पनि कम हुने र अगामि सरकारको नेतृत्वको अवसर पनि गुम्ने बताए । उनले एक सय सिट पाए कांग्रेस ७० सिट जित्ने दावी समेत गरे ।
नेता कोइरालाले जीतको सुनिश्चितता भएको ठाउँमा मात्र गठबन्धन दलका बीचमा सहमति हुनु पर्ने धारणा राख्दै गठबन्धन दलका बीचमा भएको सहमति अनुसार अगामी सरकार नेपाली काँग्रेसको नेतृत्वमा बन्ने बताए।
नेता कोइरालाले गठबन्धन भित्र सहमती हुन अझै वाँकी रहेको बताउदै एक दुई दिन भित्र प्रतिनिधीसभाको सिट भागबण्डाको निश्कर्ष लागेपछि प्रदेशसभाको भागबण्डामा कुराकानी सुरु हुने बताए ।
एक प्रश्नको जवाफमा नेता कोइरालाले कुनै दललाई काँग्रेसले ठूलो पार्टीलाई बनाई दिनुपर्ने बाध्यता नभएको बताउँदै पार्टीले गठबन्धन गर्दा पार्टी हितलाई सर्वोपरि राख्नु पर्ने बताए ।
उनले जिल्ला जिल्लाको भ्रमण गर्दा गठबन्धन काँग्रेसले गर्न नहुने आवाज पनि उठेको बताए ।
जनकपुर विमानस्थलमा नेता कोइरालालाई स्वागत गर्नका लागि नेपाली काँग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार, नेता रामकृष्ण यादव र नेपाल प्रेस युनियनका केन्द्रीय अध्यक्ष शिव लम्साल सहितका नेताहरू उपस्थित रहेका थिए।
नेपाल प्रेस युनियनको भोलिदेखि जनकपुरधाममा हुन लागेको केन्द्रीय समितिको बैठकको उद्घाटन गर्नका लिनका लागि नेता कोइराला आज जनकपुरधाम आएका हुन् ।