जनकपुरधाम- नेपाली कांग्रेसका नेता सन्तोष कुमार यादव नेकपा एमाले प्रवेश गर्दै छन् ।
नेकपा एमालेको सोमवार जनकपुरधाममा हुने जनसभामा नेता यादवलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टी प्रवेश गराउने भएको छ।
लामो समय देखि काँग्रेस पार्टीमा लागेर काम गरेका नेता यादवले मंसीर ४ गते हुने निर्वाचनमा प्रदेश सभातर्फ धनुषा निर्वाचन क्षेत्र नम्बर ४ को ‘ख’ बाट एमालेले टिकट दिने भएपछि पार्टी फेर्न लागेको बताए ।
यादव नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा संस्थापन पक्ष (शेरबहादुर देउवा) समूहबाट धनुषा सभापतिको पदमा चुनाव लडेका थिए । उनलाई संस्थापन इतर समूह (बिमलेन्द्र निधि) बाट सभापतिका उम्मेदवार योगेन्द्र पजियारले दोस्रो राउण्डमा पराजित गरेका थिए । यसअघि यादव पार्टीका जिल्ला सचिव हुँदै उपसभापतिसम्म निर्वाचित भएका थिए ।
यादवले एमाले प्रवेश गर्न लागेको पुष्टि गरेका छन् । उनि कांग्रेस पार्टी भित्र कार्यकर्ताको मुल्यांकन हुन नसकेको प्रति असन्तुष्टि जनाए । उनले कार्यकर्ताको लागि उक्त पार्टी उपयुक्त नभएका कारण पार्टी त्याग गर्न लागेको बताए ।
नेता यादवले सोमबार हुने एमालेको जनसभामा आफ्ना समर्थक नेता, कार्यकर्ता तथा समर्थक सहित कांग्रेस पार्टी परित्याग गरेर एमाले प्रवेश गर्ने बताए।
यता पार्टीको अधिवेशनमा देखिएको मतभेदले यो अवस्था आएको कांग्रेसी नेताहरुको भनाइ छ ।




