
जनकपुरधाम- मधेस प्रदेशमा मंसीर ४ गते हुने प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनको लागि म्यादी प्रहरी भर्ना लिने प्रक्रिया सुरु गरेको छ।
मधेस प्रदेश प्रहरी कार्यालयले दिएको जानकारी अनुसार भर्ना प्रक्रिया सुरु गरेको आज पहिलो दिनमा म्यादी प्रहरीमा भर्ना हुनको लागि प्रदेशका ८ वटै जिल्लामा दरखास्त दर्ता गराउनेको संख्या ८ हजार ४ सय १३ जना रहेको छ। जसमध्ये २दुई २ सय ९७ महिला र ६ हजार १ सय १६ जना पुरुष रहेको छ।
मधेस प्रदेश प्रहरी कार्यालको अनुसार सबै भन्दा बढी दरखास्त सप्तरी जिल्लाबाट महिला ४३५ र पुरुष ११६८ गरी १६०३ र सबै भन्दा कम पर्सा जिल्लाबाट महिला २२९ र पुरुष ४६३ गरी ६९२ रहेको छ ।
त्यसैगरी सिरहाबाट ३७५ महिला र ७१९ पुरुष गरि १०९४, धनुषाबाट २६२ महिला र ८२२ पुरुष गरी १०८४, महोत्तरीबाट २६० महिला र ५२५ पुरुष गरी ७८५, सर्लाहीबाट ३५९ महिला र १०६३ पुरुष गरी १४२२, रौतहटबाट १३६ महिला र ८७० पुरुष गरी १००६, बाराबाट २४१ महिला र ४६३ पुरुष गरी ७२७ जनाले दरखास्त दर्ता गराएका छन् ।
मधेस प्रदेश प्रहरी कार्याल प्रवक्ता डीएसपी सुमन कुमार तिम्सिनाले भर्ना हुन चाहनेले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन बुझाइसक्नु पर्ने भनि सुचना जारी गरिएको जानकारी दिए ।
प्रदेश डीएसपी तिम्सिनाले भने, “गत स्थानीय तह निर्वाचनमा खटि सकेका पुरानै अनुभवी म्यादी प्रहरीलाई प्राथमिकतामा राखिएको छ। “पुरानाबाट बचेका सिटमा नयाँले मौका पाउने छन्,” उहाँले भन्नुभयो, “त्यसका लागि तोकिएको मापदण्ड पूरा गरेको हुनुपर्छ।”
प्रदेश डीएसपी तिम्सिनाले भर्ना हुन चाहनेले भदौ ३० गतेदेखि असोज ६ गतेसम्म आवेदन बुझाइसक्नु पर्ने भनि सुचना जारी गरिएको जनाए ।
भर्ना हुनका लागि नेपाली नागरिक भएको, साधारण लेखपढ गर्न जानेको, शारीरिक रूपमा तन्दुरुस्त, कुनै फौजदारी अभियोग नलागेको, कुनै दलको सदस्य नभएको र १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेको लगायतका मापदण्ड पूरा गरेको हुनुपर्ने मधेस प्रदेश प्रहरी कार्यालले जनाएको छ।
‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ अनुसार आवेदन दिएकाको असोज ९ गतेदेखि १४ गतेसम्म छनोट हुने र असोज २५ गते अन्तिम नतिजा प्रकाशन गर्ने तालिका छ। त्यस्तै सार्वजनिक बिदा बाहेक असोज ६ गतेदेखि सुरु भई कात्तिक ८ गतेसम्म प्रशिक्षण तालिम दिइने मधेस प्रदेश प्रहरी कार्यालले जनाएको छ।
भर्ना भएका म्यादी प्रहरीका लागि पारिश्रमिक बापत प्रतिदिन ८६९ रुपियाँको दरले ३४ हजार ६७० रुपियाँ पाउने व्यवस्था गरिएको छ । यस अतिरिक्त खाना खर्च बापत एकमुष्ट सात हजार दुई सय रुपियाँ र तोकिएको पोसाक एवं अन्य बन्दोबस्तीका सामान खरिदका लागि जनही छ हजार रुपियाँ सुविधा पाउने व्यवस्था गरिएको छ।
‘म्यादी प्रहरी भर्ना छनोट, नियुक्ति तथा परिचालनसम्बन्धी मापदण्ड २०७९’ मा उल्लेख भएअनुसार निर्वाचनमा खटिने म्यादी प्रहरीले यातायात बापत एक हजार र तीन सयका दरले चार दिनको खाजा खर्चसमेत पाउने मधेस प्रदेश प्रहरी कार्यालय प्रवक्ता डीएसपी तिम्सिनाले जानकारी दिए।