
जनकपुरधाम।मधेसका दलित समुदाय अन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई सधैँ खान, लाउन धौधौ हुन्छ । अहिले यहि डोम जातिको मुहारमा हाँसो र मनमा उल्लास छाएको छ । गरीबी र विपन्नताको जाँतोमा पिल्सिएर वर्षौंभरि गाउँगाउँमा सुँगुर डोर्याएर चहार्ने डोम समुदायलाई अहिले छठ पर्व नजिकिँदै जाँदा बाँस र बेतका चोयाबाट डालो, नाङ्लो र टपरी बनाउन भ्याइनभ्याइ भएको छ ।
तराईवासी हिन्दू धर्मावलम्बीहरूको महान् पर्व छठ नजिकिँदै जाँदा धनुषा, महोत्तरीका डोम समुदाय बाँस र बेतका चोयाबाट भाँडाकुँडा बनाउन व्यस्त देखिएका छन् । यति बेला उनीहरुले यही सामग्री बेचेर राम्रो आम्दानी गर्न सफल भएका छन्।
धुनषा, महोत्तरीमा करिब पन्ध्र लाख जनसंख्या रहेकामा करिब ७५ प्रतिशतले छठ पर्व मनाउने गरेकाले डोम समुदायले प्रत्येक छठ व्रतीलाई बाँस र बेतका भाँडाकुँडा बेचेर राम्रो आम्दानी गर्न सफल भएको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका ६ सखुवाबजार नयाँटोलका का डोम झल्कु मल्लिकले बताए।
छठ मनाउने प्रत्येक परिवारले बाँस र बेतको चोयाबाट तयार गरिएका डालो, नाङ्लो, टपरी लगायतका नयाँ भाँडाकुँडाले पर्व मनाउनु पर्ने भएकाले आफूहरूले छठ पर्वका बेला यस्ता भाँडाकुँडा बनाएर राम्रो आम्दानी गर्न सफल हुने गरेको उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोलका श्याम मल्लिक डोमको भनाइ छ।
गाँस, बास र कपास कै जोरजाममा पिढीदर पिढीलाई हम्मे हम्मे पर्ने गरेको डोमहरूले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठो मसिनो खाने र राम्रो लगाउने शौभाग्य प्राप्त गर्ने गरेका जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १ स्थित धर्मवान टोल कै रीता मल्लिक डोमिनले बताईन्।
डालो बुन्दै गरेको महोत्तरीको औरही नगरपालिका वडा नम्बर १ का ईन्दल मल्लिक डोमले कात्तिक लाग्ने बित्तिक्कै घरका बच्चादेखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्लो र टालु टपरी बनाउनमा तल्लिन हुन्छौँ भने बजारमा बेच्दा राम्र आम्दानी हुने भएकाले आफूहरू निकै खुशी भएको बताए।
छठ पर्व मनाउने प्रत्येक तराईवासीले छठमाता तथा सूर्यदेवलाई बाँस र बेतबाटै बनाइएका डालो, नाङ्लो र टालु टपरीमा अर्घ दिनुपर्ने भएकाले प्रत्येक परिवारमा पाँच÷सात वटा बाँसका भाँडाकुँडा किन्नुपर्छ।
त्यसैगरी महोत्तरीको भंगहा नगरपालिकाका सुखारी डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु १० देखि २० हजार र प्रत्येक परिवारले सरदर रु दुई लाखसम्म आम्दानी गर्ने गरेको बताए।
अहिले जिल्लाको गाउँ गाउँमा डोम जातिका प्रत्येक घरमा बाँस र बेतको थुप्रो राखिएको छ भने परिवारका सबैजना बाँस र बेतका सामग्री बनाउन व्यस्त देखिन्छन्।
दिनदिनै छठ पर्व मनाउने व्यक्तिको संख्यामा वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पु¥याउन डोम जातिलाई सकस भएको छ भने डोम परिवारलाई ती सामग्री बनाउन अहिलेदेखि भ्याईनभ्याई भएको उनीहरू बताउँछन्।
गाँस, बास र कपासकै जोरजाममा हम्मेहम्मे पर्ने गरेको डोमले छठपर्व आउनासाथ कात्तिक महिनाभरि आफ्ना जीवनका हरेक दुःख बिर्सेर मीठोमसिनो खाने र राम्रो लगाउने सौभाग्य प्राप्त भएको मिथिला नगरपालिका ७ का ५५ वर्षीय राजबिर डोमले बताए ।
गाउँ, शहरमा हुने भोजभतेरबाट जुठो समेत ल्याएर सपरिवार खाने गरेको डोमले कात्तिकमा मीठा मीठा परिकार पकाएर खाने गरेको सोही ठाउँकी ६० वर्षीया रुमीनी डोमिनले बताईन् ।
डोम बस्तीमा अहिले बाँस खोजेर ल्याउने, फट्याउने, कप्टेरा र चोया काढ्ने र मागअनुसारका सामान बुन्ने काममा परिवारका सबै सदस्य ब्यस्त देखिन्छन् । घरमूलीदेखि पाँच÷सात वर्ष उमेर कटेका नानीहरु पनि लगनका साथ काममा ब्यस्त भएका देखिदो छ । अन्य बेला अभाव नै अभावमा गुजारा चलाउने डोम समुदायमा मिठोमसिनो खाने, राम्रा लुगा लाउने र स–साना नानीहरुको रहर पूरा गर्ने भाखा पनि घरमूलीले दीपावली र छठ जोडेर राख्ने गर्छन् ।
डालो बुन्दै गरेका औरही १ का जितेन्द्र मल्लिक डोमले भने, ‘मालिक, कात्तिक लाग्ने बितिक्कै घरका बच्चा देखि बूढासम्मले काम पाएर बिहानदेखि बेलुकासम्म डालो, नाङ्गो र टालुटपरी बनाउनमा तल्लीन हुन्छौँ, बजारमा बेच्दा मनग्य आम्दानी हुने भएकाले हामी निकै खुशी हुन्छौँ तर वर्षभरि काम नचल्नाले भने फेरि केही दिनपछि दुःख थपिन्छ ।’
छठपर्वको आगमनसँगै डोमका घरआँगनमा पनि छठमाता र सूर्यदेवको प्रत्यक्ष उपस्थिति रहने गरेको विश्वास सम्सी गाउँपालिकाका ६० वर्षीय बुधवा डोमले व्यक्त गरे । आफूहरुले सोही कारण दिनरात बर्तालुका निम्ति बाँसका भाँडा बनाउने गरेको उनले सुनाए ।
महोत्तरीको जलेश्वर नगरपालिकाका रामजी डोमले डालो, नाङ्लो र टालु टपरी बेचेर कात्तिकभरिमा वर्षभरि कै सबै कर्जा ऋण चुक्ता गर्न सकिने र केहि महिनासम्मको खर्चबर्चको जोहो गर्ने जति कमाइ हुने गरेको बताए ।
भङ्गहा नगरपालिकाका भरोसिया डोमले घरका बालकदेखि बूढासम्मले डालो नाङ्लो बेचेर प्रतिव्यक्ति रु ५०–६० हजार र प्रत्येक परिवारले रु तीन÷चार लाखको हाराहारीमा आम्दानी गर्ने गरेको बताए ।
हरेक वर्ष छठपर्व मनाउने वृद्धि हुँदै जाँदा प्रत्येक व्यक्तिलाई बाँसको भाँडाकुँडा पुर्याउन डोम जाति निकै व्यस्त भएको हुन्
पछिल्ला केही वर्षदेखि तराईमा मात्रै नभएर देशको राजधानी काठमाडौँ सहित पोखरा, हेटौंडा जस्ता पहाडी क्षेत्रमा पनि छठपर्व मनाउन थालिएकाले तराईबाट बाँस र बेतबाट तयार भएका भाँडाकुँडा निर्यात हुने अवस्था पनि सिर्जना भएको छ ।
डोम समुदायको भेषभुषा पुरुषहरुको धोती, कुर्ता र पगडि हो भन्ने महिलाहरुको सारी चोलो । गरगहना विशेषगरी चाँदीको प्रयोग गर्ने गर्दछन् । यी समुदायका महिलाहरुको रुपैयाँको माला, खुट्टमा पाउजु, काँडा, छाडा इत्यादि लगाउँछन्, गालामा माला हसुली र शरीरमा विशेषगरी गोदना (ट्याटु) भर्ने चलन छ । डोम जातिले हिन्दु धर्म मान्छन् र काली भगवतीको पूजा गर्दछन् ।
वैशाखमा सिरुवा,भदौ र असोज महिनाको विचमा जितिया जस्ता चाडपर्व मान्छन् । दशैँमा काली भगवतीको पूजा गरी सुंगुरको वलि दिने गरिन्छ । होली फागुपुर्णिमा, छठ पर्व आदी विशेष चाडको रुपमा मनाउने गर्दछन् ।
बालविवाह र मदिरा सेवनजस्ता कुुुसंस्कार डोम जातिमा रहेको छ । यी कुरालाई रोकथाम गर्न सरकारी निकायले नै अघि बढ्नुपर्ने आवश्यकता छ । डोम समुदायमा दुधे बालक बालिका भएकै अवस्थामा विहे गरिने दिने चलन रहेको छ।
यिनिहरुलाई सार्वजनिक कल, इनार इत्यादि छुन दिदैनन् । आँगनमा पनि आउन दिदैनन् । कहिँ झुकिएर आइहालेमा छोइछिटो गरिहाल्नुपर्ने, गाली बेईज्जत गरी हाल्नुपर्ने जस्ता कार्यहरु गर्दै आएका छन् । गाउँघरमा विहेवारी तथा अन्य अवसरमा भोजभतेरमा बढि भएको बासी खानाहरु डोम जातिलाई दिने तथा खाँदाखाँदै गरेको जुठो खानेकुरा दिने गर्दछन् । गरिबी कै कारण मरेको सुँगुर, कुखुरा पनि वाध्यात्मक रुपमा खाँदै आएका छन् । यहा सम्मकि डोम जातिले अन्य जातिको व्यत्तिसँग विहे गरेमा जात जाने र जातबाट हटाइने गरिन्छ । डोम जातिमा सजाय दिने र न्याय दिने आफ्नै खालको व्यवस्था हुन्छ ।



को हुन डोम समुदाय
दलित समुदाय अन्तर्गत सबैभन्दा पिछडिएका डोम समुदायलाई मानिन्छ । यी समुदाय तराई÷मधेशका जिल्लामा एलानी जग्गाहरु झुप्रो बनाएर बसोबास गरिरहेका छन् ।यो जातिलाई दलितभित्रको दलित भन्ने गरिन्छ । यिनिहरुको आफ्नै सस्कृति र संस्कार रहेको छ । यिनिहरु विभिन्न क्षेत्रबाट अपहेलित भएकै कारण यिनिहरुको शैक्षिकस्तर, सामाजिक , आर्थिक र धार्मिक अवस्था निकै दयनीय रहेको पाईन्छ । यिनिहरुको वेषभुषा, रहनसहन र रितिरीवाज आफ्नै किसिमको छ । डोमहरु बाँसको शीपको धनी मानिन्छन् । यिनीहरुको पशुपालनमा सुँगुर पाल्ने गर्दछ । यिनीहरुलाई घाटवासी भन्ने चलन छ । यिनीहरुको मुर्दाघाट (मसान घाट) रुँघ्ने चलन छ । मरेको मान्छेको लुगाफाटा, गरगहना, इत्यादि दान दिने चलन छ । गाँउघरतिर भोजभतेर(विहेवारी, श्राद्ध) मा जुठो खुवाउने गरिन्छ । मरेको मान्छेलाई दाहसंस्कारको बेला डोमबाट आगो किन्नु पर्ने चलन मधेसमा छ । जस कारण नेपाली उखानमा यी जातिलाई हेपेर मरे पछि डुमै राजा भन्ने चलन छ ।
समाजिक अवस्था
दलित भित्रैको दलित भनिने डोम जातिको अवस्था एकदमै नाजुक रहदैँ आएको छ । गाउघरमा कुकुर, विरालो,मान्छे मरेपछि डोम जातिले नै उठाउनु पर्ने, फाल्नुपर्ने, दाहसकार गर्नुपर्ने बाध्यता रहेको छ । शहरबजारमा बस्ने डोमहरुले सर सफाइ क्षेत्रमा हात हालेको कारण अन्य जातिहरुले यो जातिका मानिसहरुलाई ज्यादै हेय दृष्टिले हेर्ने गरेको पाईन्छ । समाजमा सबैभन्दा अचम्म र घृणालाग्दो कुरा त दलितहरुले नै यिनीहरुलाई अझ तल्लो स्तरमा राखेर व्यवहार गर्ने गरेको पाईन्छ । नजिकै छिमेकीको रुपमा रहेको चमार, मुसहर र मेहतर जातिका व्यत्तिहरुले समाजिक रुपमा निकै अपहेलना गरि रहेका छन् ।