
सप्तरी- १८ वर्षीया युवतीलाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले राजविराज नगरपालिका–१६ बोरियाका २८ वर्षीय सुशीलकुमार यादवलाई भदौ ३० गते १० वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश लालकाजी श्रेष्ठको इजलासबाट बलात्कार कसुरमा यादवलाई १० वर्ष कैद, ५० हजार रुपियाँ जरिबाना र १ हजार ८ सय रुपियाँ फौजदारी कसुर पीडित राहत कोषमा जम्मा गर्न फैसला गरेको हो ।
पीडित युवतीलाई यादवले ०७६ जेठ १२ गते बलात्कार गरेको भन्दै पीडितकी सौतेनी आमाले इलाका प्रहरी कार्यालय कञ्चनरुपमा असार ४ गते उजुरी दिनु भएको थियो ।
बलात्कार घटनमा संलग्न रहेको आरोपमा प्रहरीले यादवलाई ०७६ असार ८ गते गिरफ्तार गरी उजुरी दर्ता गरेको थियो ।
पीडितको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा ०७६ असार ८ गते स्वास्थ्य परीक्षण गरिएको थियो । स्वास्थ्य परीक्षणमा पीडित ६ महिनाकी गर्भवती रहेको अस्पतालले जनाएको थियो ।
आरोपित यादव कञ्चनरुप नगरपालिका कार्यालयमा ब्याक होल्डर रोडरका चालकका रुपमा करार सेवामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।
कञ्चनरुप नगरपालिका–८ मा डेरा गरी बसेका बेला आपसमा प्रेम सम्बन्ध भई ०७५ भदौ १० गते हनुमाननगर कङ्कालिनी नगरपालिका–१ स्थित कङ्कालिनी मन्दिरमा विवाह गरेको आरोपित यादवले बताउनु भयो ।
विवाहिता पत्नीले उनकी सौतेनी आमाको बहकाउमा परी झुठा उजुरी दिएको आरोपित यादवले बताउनु भयो ।
जिल्ला अदालतले आरोपित यादवलाई ०७६ साउन १ गते १ लाख १० हजार रुपियाँ धरौटी राखी पुर्पक्षका लागि तारेखमा रिहा गरेको थियो ।