
काठमाडौं- बङ्गलादेशले छैटौँ संस्करणको साफ महिला च्याम्पियनसिपको उपाधि जितेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आयोजक नेपाललाई ३–१ गोलअन्तरले हराउँदै बंगलादेशले उपाधि जितेको हो ।
बंगलादेशलाई जित दिलाउन श्रीमोती कृष्णरानी सरकारले दुई तथा शामसुनाहरले एक गोल थपिन । नेपालका लागि अनिता बस्नेतले एक गोल फर्काइन् ।
१४ औँ मिनेटमा शामसुन्नाहरले बंगलादेशलाई अग्रता दिलाएकी थिइन । कृष्णरानीले ४१ औँ मिनेटमा अग्रता दोब्बर बनाइन । ७० औँ मिनेटमा अनिता बस्नेतले गोल फर्काएसँगै नेपालको केही आशा देखिएको थियो । तर कृष्णरानीले ७६ औँ मिनेटमा बङ्गलादेशको लागि तेस्रो गोल गरेपछि नेपाल पराजित भयो ।
नेपाल पाँचपटकसम्म फाइनल पुगे पनि उपाधि जित्नबाट बन्चित भएको छ । वर्षाका कारण दुवै टिमले स्वभाविक खेल देखाउन सकेनन् ।
साफ महिला च्याम्पियनसिपको उपाधि जित्ने बङ्गलादेश दोस्रो राष्ट्र बनेको छ । बङ्गलादेशको लागि पहिलो उपाधि हो ।