
महोत्तरी- गत स्थानीय निर्वाचनमा कांग्रेसले टिकट नदिएपछि बागी उठेर मेयर जितका बर्दिबास नगरपालिकाका प्रह्लाद क्षत्री पक्षधरले अहिले स्वतन्त्र चुनावी छलफल थालेका छन्।
महोत्तरी क्षेत्र नम्बर१ ‘क’ मा पर्ने बर्दिबास नगरपालिकामा स्वतन्त्र ‘जेब्रा घोडा’ छापबाट जितेका क्षेत्री पक्षले आउँदो चुनावमा कसरी सहभागी हुने भन्ने छलफल थालेका छन्।
गत ३० वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पार्टी अनुशासन उल्लंघन गरेको आरोपमा कांग्रेसले नगर सभापति युवराज पोखरेल, प्रल्हाद क्षेत्री सहित नेतालाई कारबाही गरेको थियो।
तर अहिलेसम्म कारबाही फुकुवा नगरेपछि उनीहरुले अब हुने निर्वाचनमा ‘घोडा छाप’बाटै आफ्नो उम्मेदवार दिने र कुनै पार्टीलाई सर्तसहित सहयोग गर्ने तयारी भइरहेको क्षेत्रीनिकट विनोद ढुंगेलले बताए।
निर्वाचन क्षेत्र नम्बर १ मा अहिले पनि आफूहरुको मत बढी रहेको स्वतन्त्र पक्षधरहरुको दाबी छ। ‘हामी बैठक बसेर प्रदेशमा उम्मेदवार उठाउँछौँ र संघमा परिस्थिति हेरेर सहयोग गर्छौं,’ नेता ढुंगेलले भने।
यद्यपि कांग्रेसले कारबाही फुकुवा गरे भने पार्टीको निर्देशनमा लचिलो बन्ने क्षेत्री पक्षधरले संकेत गरेको छ।
जिल्ला सभापति नागेश्वर यादवका अनुसार कारबाहीमा परेका नेता, कार्यकर्ताहरुलाई फुकुवा गर्न पहल भइरहेको छ।
‘सभापति शेरबहादुर देउवासँग पनि यसबारे कुरा भइसकेको छ। कारबाही फुकुवाका लागि सभापतिलाई पटकपटक भेटेको पनि छु। आशा गरौँ छिट्टै कारबाही फुकुवा हुनेछ,’ यादवले भने।