
जनकपुरधाम- राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरोधमा जनकपुरधाम प्रदर्शन गरिएको छ ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै उनको विरोधमा लोकतान्त्रिक समाजवादी पार्टीले जनकपुरधाममा चक्काजाम गरेर विरोध प्रदर्शन गरेका छन् । लोसपाले जनकपुरधामको पिडारीमा चौकमा चक्काजाम गरेका थिए ।

लोकतान्त्रिक युवा संघका जिल्ला अध्यक्ष प्रशान्त झाले राष्ट्रपतिले संविधानलाई अवज्ञा गरेकाले आफूहरू बाध्य भएर आन्दोलनमा उत्रिनु परेको बताए ।

राष्ट्रपतिको कदम असंवैधानिक भएको भन्दै मधेसवादी दलहरूले आन्दोलनको चेतावनी दिएका छन् ।
तमलोपाले जलाए पुत्ला
बृषेश चन्द्र लाल नेतृत्वको तराई मधेश लोकतान्त्रिक पार्टीले जनकपुरधाममा राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्ला दहन गरेको छ।

राष्ट्रपति भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै तमलोपाका नेता कार्यकर्ताहरूले बुधवार स्थानीय जनकचोकमा उनको पुत्ला दहन गरेका हुन् ।
संविधानको धारा ६१ को (४) मा ‘संविधानको पालना र संरक्षण राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ’ भनी स्पष्ट रुपमा उल्लेख रहेपनि राष्ट्रपति भण्डारीले संविधानको धारा ११३ को (४) बमोजिमको बाध्यात्मक कार्य नगरी संविधानको घोर उल्लंघन गरेको भन्दै तमलोपाले उनको राजीनामा माग्दै पुत्लासमेत जलाएको छ ।
तमलोपाकी नेतृ विभा ठाकुरले भनिन, ‘संविधानको घोर उल्लंघन र आफ्नै देशको जनताबिरुद्ध षडयन्त्र गर्ने व्यक्ति कुनै पनि दृष्टिले राष्ट्रपति पदको निमित्त एक क्षणको लागि पनि योग्य हुन सक्दैन । त्यसैले हामीले राष्ट्रपति भण्डारीको तत्काल राजीनामाको माग गरेका हौं ।’
नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपतिको निणर्यलाई लिएर दलहरु दुई ध्रुवमा बाँडिएका छन् ।

सत्तारुढ दल र मधेसवादी दलहरुले राष्ट्रपतिको विरोध गरेका छन् भने नेकपा एमाले, राप्रपा नेपाल लगायतका दलहरु राष्ट्रपतिको पक्षमा देखिएका छन् ।
ढल्केवरमा नागरिकता बिहिन युवाहरुले पनि राष्ट्रपति भण्डारीको पुत्ला जलाए
धनुषाको ढल्केवरमा नागरिकताबिहिन संघर्ष समितिका युवाहरुले राष्ट्रपति विद्यादेवी भण्डारीको पुतला जलाएका छन् ।
दुवै सदनबाट दुई पटक पारित नागरिकता विधेयक प्रमाणीकरण नगरेको विरोधमा नागरिकताबिहिन युवाले राष्ट्रिपति भण्डारीको पुतला जनाएका हुन् ।
उनीहरुले ढल्केवर चोकस्थित ट्राफिक प्रहरी कार्यालय अगाडि राष्ट्रपति भण्डारीको पुतला जलाएका छन् । पुतला जलाउनुअघि ति नागरिकताबिहिन युवाहरुले राष्ट्रपति भण्डारी र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको विरोधमा नाराबाजी गरेका थिए।
नागरिकताबिहिन युवाहरुले नागरिकता विधेयक शीघ्र प्रमाणीकरण हुनुपर्ने माग राख्दै नाराबाजी गरेका थिए ।