
बर्दिवास - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता तथा नवनिर्वाचित सांसद शरतसिंह भण्डारीले भर्खरै सम्पन्न निर्वाचनमा उदाएका नयाँ दल र नयाँ चेहराले मुलुकका लागि गहन सन्देश र गम्भीर सङ्केत गरेको बताउनुभएको छ । यो मतादेश जनताभित्रको आक्रोश र असन्तुष्टिको अभिव्यक्तिसमेत भएको उहाँको भनाइ छ ।
यसलाई मूलधारका राजनीतिक दल र ती दलका नेताले नबुझे गम्भीर अवस्था आउनसक्ने उहाँले बताउनुभयो । “अब पनि हामीले आफैँमा परिवर्तन गर्न सकेनौँ, नेता, पार्टी र सरकार चलाउने ढङ्ग परिवर्तन हुन सक्दैन भने देश ठूलो दुर्घटनामा पर्ने सङ्केत यो निर्वाचनले गरेको छ,” उहाँले भन्नुभयो । महोत्तरीको क्षेत्र नं. २ बाट जिल्लामै सबैभन्दा बढी मतान्तरले विजयी बन्नुभएका भण्डारीले बिहीबार महोत्तरीको औरहीमा आयोजित सम्मान समारोहलाई सम्बोधन गर्दै यो चुनाव विगतको चुनाव जस्तो नभएको फरक औँल्याउनुभयो ।
यो चुनावसम्म आइपुग्दा जनताले वैकल्पिक शक्तिका रूपमा नयाँ दल र नयाँ अनुहारलाई मत दिएर वर्तमान सत्ता, सरकार र प्रतिनिधिबाट सन्तुष्ट नभएको सन्देशसमेत दिएको उहाँको भनाइ थियो । “यस परिप्रेक्ष्यमा उदाएका जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीजस्ता दल र चेहराले कहीँ न कहीँ मूलधारका पार्टी चुकेको सङ्केत गरेको छ,” भण्डारीले थप्नुभयो ।
एकातिर संविधान अपूर्ण रहेको र अर्कोतिर संविधानले प्रत्याभूत गरेका कुराबाट पनि बञ्चित भएपछि बाध्य बनेका जनता विकल्प खोज्न थालेकोे उहाँको बुझाइ छ । यो निर्वाचन प्रणालीले मूलधारका दललाई गम्भीर चेतावनीसमेत दिएको उहाँले धारणा व्यक्त गर्नुभयो ।
चार दशकअघि जनताको अवस्था जस्तो थियो अहिले पनि उही अवस्था भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “न रोजगारी, न मलखाद, न सहज शिक्षा, न उपचार केही उपलब्ध भएन ।”-गोरखापत्र