वीरगञ्ज - जनमत पार्टीका केन्द्रीय र पर्सा जिल्लाका स्थानीय नेताहरू सत्तारुढ जनता समाजवादी पार्टी (जसपा)मा प्रवेश गरेका छन् ।पर्साको वीरगञ्जमा आयोजित कार्यक्रममा जसपाका उपमहासचिवसमेत रहेका खानेपानीमन्त्री प्रदीप यादवले जनमत पार्टी परित्याग गरेका नेताहरूलाई जसपामा प्रवेश गराएका हुन् ।
जनमत पार्टी परित्याग गरेर जसपामा प्रवेश गर्ने नेताहरूमा जनमत पार्टीका केन्द्रीय सदस्य तथा पर्सा जिल्ला सहइन्चार्ज मुकेश द्विवेदी र जिल्ला सचिव शशी पाण्डेसहितका नेता रहेका छन् । जसपा प्रवेश गर्नेहरूमा जनमतको वीरगञ्ज महानगर कमिटीका सचिव पवन साह कानु, जिल्ला सदस्य शशीभूषण शर्मा, छिपहरमाई गाउँपालिकाका पर्यवेक्षक राजु तिवारी र वीरगञ्ज महानगरपालिका– १ का ईकाइ सभापति चन्दन साह कानु रहेका छन् ।
मन्त्री यादवले पार्टीको विचार र उद्देश्यलाई आत्मसात गर्दै जसपालाई सुदृढ र प्रभावकारी बनाउने बताए । उनले जनताको भावनालाई सम्बोधन गर्न र समृद्ध नेपालको परिकल्पना साकार पार्न जसपामा प्रवेश गरेका नेता र कार्यकर्ताले सक्रियताका साथ पार्टीमा लाग्ने अपेक्षा रहेको बताए ।
वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले जनताको समस्या सम्बोधन गर्न र विकासको कार्यसूचीलाई तीव्र बनाउन पार्टीमा आबद्ध कार्यकर्ताहरूको अनुभव र सक्रियता उपयोगी हुने बताएका थिए ।
जसपामा प्रवेश गरेका द्विवेदीले जनमत पार्टीभित्रको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफूले पार्टी परित्याग गरेको बताएका थिए । 'जनमत पार्टीभित्र अध्यक्ष सिके राउतको एकलौटीपन र तानाशाही प्रवृत्तिले हामी निरास भयौँ । हाम्रो उद्देश्य जनताको भावना प्रतिनिधित्व गर्नु हो, जसका लागि जसपा उपयुक्त माध्यम हो,' उनले भनेका थिए ।