
काठमाडौं : महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा एमालेसँग तालमेलका लागि छलफल गर्न समिति बनाएको छ ।
लोसपाको बैठकले संघीय निर्वाचनमा एमालेसँगको तालमेलबारे निष्कर्शमा पुग्नेगरी छलफल गर्न ६ सदस्यीय समिति समिति बनाएको हो ।
लोसपा नेता राजेन्द्र महतोको नेतृत्वमा बनेको समितिमा शरतसिंह भण्डारी, अनिलकुमार झा, सर्वेन्द्रनाथ शुक्ल, लक्ष्मणलाल कर्ण र जितेन्द्र सोनल छन् ।
यो समितिले आसन्न प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ एमाले लगायतका विचार मिल्ने दलहरुसँग सहकार्य गर्न वार्ता गर्ने बताइएको छ।
लोसपाले सत्ता गठबन्धनसँग चुनावी तालमेलका लागि प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि पटकपटक छलफल गरेको थियो ।
गठबन्धनमा सहभागी गराउन माओवादी, एकीकृत समाजवादी र जसपाले अस्वीकार गरेपछि लोसपाले एमालेसँग तालमेल गर्नेगरी छलफल अगाडि बढाएको हो ।