
महेन्द्रनगर- धनुषाको क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर तथा नेपाली काँग्रेस मधेस प्रदेश सदस्य रचना माथेमाले नगरपालिकामा एमालेले गर्दा सबै कामकाज अवरुद्ध भइरहेको आरोप लगाएकी छिन् ।

नेपाली कांग्रेस क्षीरेश्वरनाथ नगर कार्य समिति महेन्द्रनगर धनुषाको आयोजनामा राष्ट्रपतिद्वारा दोश्रो पटक फिर्ता गरिएको नागरिकता विधेयकको विरुद्धमा आयोजना गरिएको विरोध कार्यक्रममा सम्बोधन गर्दै उपमेयर माथेमाले काँग्रेसले नगरपालिकाको काममा सहयोग प्रदान गर्न तत्पर भए पनि एमालेले सहयोग लिन तयार नहुँदा नगरपालिकाको अहिले सम्म बजेट पारित हुन नसकेको बताईन् ।

उनले मेयरले कुनै पनि निणर्य कार्यपालिकाबाट पारित गर्नु पर्ने प्रावधान भएपनि कार्यपालिकाको बैठकमा सहभागी भएपनि कुनै एजेन्डामा छलफल हुने क्रममा उहाँ (मेयर)उठेर हिडिदिने कार्य गर्नु भएको हुँदा बैठक बिना निष्कर्ष टुंगिने गरेको आरोप लगाइन् ।
उपमेयर माथेमाले भनिन्, “हामी विपक्षी (नेपाली काँग्रेस)को तर्फ बाट दुई तिहाई बढी बहुमत कार्यपालिकामा रहे पनि समग्र नगर विकासको काममा सबै किसिमको सहयोग गर्न तयार छौं, मिलेर काम गर्न चाहन्छौं तर सहयोग लिन आफै नचाहेको हुँदा नगरपालिकामा समस्या उत्पन्न भएको हो।”
उनले अहिले एमालेको कारण देशमा नै समस्या उत्पन्न भएको बताइन् । उनले एमाले गर्दा अहिले लाखौं नागरिक अनागरिक भएको र यसले मधेसी जनताको भावना नसमेटिएको बताइन् ।

उक्त विरोध कार्यक्रममा काँग्रेस क्षेत्र नं. ४ का क्षेत्रिय सभापति कुमारकान्त झाले नेपालको संविधानको धज्जी उडाउँदै राष्ट्रपति विद्या देवी भण्डारीले दोश्रो पटक नागरिकता विधेयक फिर्ता गरेको बताए ।
उनले राष्ट्रपति एमालेको इसारामा यस्तो विभेदकारी कदम चालेको बताए । उनले केपी शर्मा ओलीले मधेसवासीलाई जहिले पनि झुक्याएर राख्न मात्र खोजेको बताउँदै उनले एमाले मात्र नागरिकता विरोधी रहेकोले आआफ्नो ठाउँमा गई जनता समक्ष जानकारी गराउने साथै आउँदो मंसिर -४ को निर्वाचनमा नेपाली कांग्रेसको पक्षमा जनलहर चलाई एमाले पार्टीलाई परास्त गर्नु पर्ने आवश्यक्ता रहेको बताए ।
सभापति झाले यस निर्वाचनबाट कांग्रेसलाई बहुमतले विजयी गराए मात्र नागरिकता विधेयक पारित हुने र लाखौं जन्मसिद्ध नागरिकता वाहकका सन्तानले नागरीकता पाउन सक्ने दाबि गरे ।
काँग्रेस क्षीरेश्वरनाथ नगर सभापति लालबाबू यादबले राष्ट्रपतिको कदमले मधेशी जनताको अधिकारमा अन्तरघात गरेको बताए ।
उनले क्षीरेश्वरनाथ नगरपालिकाका समेत एमाले बाट निर्बचित मेयर सुखदेव यादबले नगर पालिकालाई मौखिक आदेशको भरमा चलाउन खोजेको हुँदा नगरपालिकाको बहुमत कार्यपालिका सदस्यले कार्यपालिकाबाट निणर्य गराउन भनेपछि बिबाद उत्पन्न भएको बताए । उनले कार्यपालिकाका बहुमत सदस्यहरुलाई विश्वासमा लिन नसक्दा नगर परिषद सम्पन्न नभइ बजेट समेत पारित हुन नसकेकोले नगरको काम काज ठप्प भएको बताए ।
सभापति यादवले नगरको काम काज सुचारुको लागि अबिलम्ब पहल गर्न मेयरलाई आग्रह गर्दै सहयोगको लागि आफूहरु तयार रहेको बताए।
नेपाली काँग्रेस क्षेत्र नं. ४ का सचिव तथा क्षीनपा वडा नं. ४ का वडा अध्यक्ष जगदीश यादवले दुबै सदनबाट पारित भएको विधेयकलाई राष्ट्रपतिले प्रमाणित नगरेर संविधान मिचेको बताए । उनले नागरीकता विधेयक पारित नहँुदा लाखौं जन्मसिद्धका सन्तानहरु अनागरिक हुन एमालेले बाध्य पारेको आरोप लगाए ।

नेपाली कांग्रेस क्षीरेश्वरनाथ नगर कार्य समितिले आयोजनामा भएको विरोध जुलुस महेन्द्रनगर स्थित पार्टी कार्यालयबाट सुरु भएको जुलुस नगरपरिक्रमा गर्दै सखुवा चोकमा कोण सभामा परिणत भएको थियो ।
जुलुस प्रदर्शनमा नागरिकता विधेयक पारित गर, राष्ट्रपति मुर्दाबाद, नेपाली कांग्रेस जिन्दाबाद लगायतका विभिन्न नाराबाजी गर्दै बजार परिक्रमा गरेका थिए ।
यो पनि पढौं
क्षीरेश्वरनाथ नगरपालिकाको बजेट पास हुन नसक्दा नगरपालिकाका दैनिक कामकाज प्रभावित हुँदै : मेयर यादव