धनुषा- धनुषाको जनकपुरधाम र क्षीरेश्वनाथ नगरपालिको महेन्द्रनगरमा प्रत्येक वर्ष घटस्थापनादेखि सुरु हुने दशैं बजारको आज देखि शुभारम्भ भएको छ।

दशैं, दीपावली तथा छठ पर्वमा जनतालाई सस्तो दरमा दैनिक उपभोग्य सामाग्रीहरू बिक्री वितरण गर्नका लागि जनकपुरधाम उद्योग वाणिज्य सङ्घले दशैं बजार सञ्चालन गर्दै आएको छ ।



जनकपुरधामको गोपाल धर्मशालामा सुरु भएको दशैं बजारमा स्थानीय तथा राष्ट्रिय रुपमा उत्पादन भएको दैनिक उपभोगका सामाग्रीका साथै खाद्यान्न सामाग्रीका गरी ९४ वटा स्टल रहेको जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष जितेन्द्र महासेठले जानकारी दिनुभयो ।

दशैं बजार स्थानीय स्तरमा सस्तो बजारका रुपमा चिनिने भएकाले कतिपय उपभोक्ताहरूले वर्षभरिका लागि चाहिने सामान खरिद गरेर भण्डारण समेत गर्ने गरेका छन् ।

जनकपुरधाम र महेन्द्रनगर दुबै ठाउँको दशैंं बजारको उदघाटन मधेश प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री शत्रुधन महतोले गर्नुभयो । मन्त्री महतो उदघाटन गर्दै दशैं बजारले आम जनताको चाहना अनुसार सुपथ मूल्यमा सामानहरू उपलब्ध गराउने विश्वास व्यक्त गर्नुभयो ।

जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख मनोज कुमार साहले दशैंं बजारमा नीजि क्षेत्रका व्यापारीहरूको ठूलो योगदान रहेको बताउँदै उपभोक्तालाई सुपथ मूल्यमा गुणस्तरीय सामान उपलब्ध हुने विश्वास व्यक्त गर्नुभयो ।

त्यसैगरी क्षीरेश्वरनाथ नगरपालिकाका उपमेयर रचना माथेमाले दर्सैको अवसरमा क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघले आयोजना गरेको सस्तो बजारले यता ग्रामिण भेगका जनतालाई राहत हुने गरेको बताउनुभयो ।

क्षीरेश्वरनाथ उद्योग वाणिज्य संघले पछिल्ला तीन वर्ष देखि महेन्द्रनगरमा दसैं बजारको आयोजना गर्दै आएको छ । महेन्द्रनगर स्थित जैसीबाबा धर्मशालाका लगाइएको दसैं बजारमा ४० वटा स्टलहरु राखिएको अध्यक्ष सुरेश प्रसाद यादवले बताउनुभयो ।




