
जनकपुरधाम- ०४६ यता को सबै संसदीय निर्वाचनमा नेपाली कांग्रेस धनुषा क्षेत्र नम्बर १ बाट आनन्द ढुङ्गाना उम्मेदवार बन्दै आएकोमा यो पटक भने नयाँ अनुहार ल्याउन लागिएको छ। प्रतिनिधिसभा निर्वाचनको लागि प्रत्यक्षतर्फ सिफारिस भएका ढुङ्गानालाई समानुपातिक सूचीमा राखिएपछि त्यहाँ युवा उम्मेदवार लगिन लागिएको हो।
कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्द सूचीको पहिलो नम्बरमा विमलेन्द्र निधि, दोस्रोमा फरमुल्लाह मन्सुर, तेस्रोमा जीवन परियार, र चौथौँ नम्बरमा आनन्दप्रसाद ढुङ्गानाको नाम राखिएको छ। प्रत्यक्षतर्फ सिफारिस भएका २ मध्ये एक जना ढुङ्गानालाई समानुपातिक उम्मेदवार बनाइएपछि कांग्रेसले अर्का युवा नेता अरविन्द महतोलाई प्रत्यक्ष चुनाव उठाउन लागेको हो।
महतो कांग्रेसको १४ औँ महाधिवेशनमा महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत छानिएका थिए। उनी धनुषा क्षेत्र नम्बर एकमा पर्ने सबैला भटिहनका स्थायी बासिन्दा हुन्। केन्द्रमा सिफारिसमा परेका दुई जना मध्ये एक जना समानुपातिक सूचीमा बसेपछि अर्का महतोले नै टिकट पाउने चर्चा चलेको छ।
०४६ पछि तीन चोटि ढुङ्गानाले त्यहाँबाट निर्वाचन जितेका थिए। मधेश आन्दोलन यता लगातार पराजित हुँदै आएका थिए। अघिल्लो निर्वाचनमा ढुङ्गाना माओवादी नेता मातृका यादवसँग पराजित भएका थिए।
अहिले सत्तारुढ गठबन्धन भए पनि कांग्रेसका नेताहरूले सो क्षेत्र आफ्नो भागमा पार्नको लागि लबिङ गरिरहेका छन्। कांग्रेस मधेश प्रदेशका एक नेता भन्छन्, ‘‘कांग्रेसको पहिले देखिनै उर्वरभूमि मानिएको धनुषा जिल्लाका चार मध्य अधिकांश क्षेत्रमा पार्टीले दाबी गर्दैछ।’’
यस्तो छ धनुषा १ को चुनावी अंकगणित
२०७४ को प्रतिनिधिसभा चुनावमा माओवादी र एमालेको बाग गठबन्धन थियो। एमालेको राम्रै प्रभाव मानिएको सो क्षेत्रमा माओवादी नेता मातृका यादवले २६ हजार ४१८ मत प्राप्त गरेका थिए। संघीय समाजवादी फोरमका दीपक कार्कीले १७ हजार २९६ मत प्राप्त गरेका थिए। कांग्रेस उम्मेदवार आनन्द ढुङ्गानाले करिब १६ हजार मत ल्याएका थिए।
२०६४ को पहिलो संविधान सभामा विजयी भएका थिए। पूर्व मन्त्री समेत रहेका उनी माओवादी पार्टी छोडेर आफ्नै नेतृत्वमा पार्टी समेत बनाएका थिए। उनले दोस्रो संविधानसभामा भाग नै लिएनन्। पछि उनी माओवादी केन्द्रमा फर्किएका हुन्।
धनुषा क्षेत्र नम्बर १ मा गणेशमान चारनाथ नगरपालिका, धनुषाधाम नगरपालिका, सबैला नगरपालिका, मिथिला नगरपालिकाको वडा नम्बर–४ र क्षिरेश्वरनाथ नगरपालिकाको वडा नम्बर ८ र ९ पर्छन्। त्यस्तै, मिथिला बिहारी नगरपालिकाको वडा नम्बर १, ३, ४ र ५ तथा हंशपुर नगरपालिकाको वडा नं. २, ३, ५, ७ र ८ पर्छन्।
गत स्थानीय तह चुनावमा नगरपालिका प्रमुख र वडाध्यक्षहरूमा खसेको मत हेर्दा नेपाली कांग्रेस अघि रहेको छ। उम्मेदवारका आकाङ्क्षी महतो भन्छन्, ‘‘स्थानीय तह चुनावमा हामीले पाएको मत जोड्दा हामी नै बलियो छौँ। यस कारण गठबन्धन कायमै रहे पनि यहाँ हाम्रो दाबी रहन्छ। माओवादीका केही साथीहरू पनि यसमा सकारात्मक पाएका छौँ।’’